ग्यास डिलरलाई तीन दिनभित्र खुद्रा विक्रेताको सूची बुझाउन तनहुँ प्रशासनको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ग्यास डिलरलाई तीन दिनभित्र खुद्रा विक्रेताको सूची बुझाउन तनहुँ प्रशासनको निर्देशन

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८३, बिहीबार

    दमौली, १९ भदौ । तनहुँमा ग्यास वितरण व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले पहल गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले ग्यास वितरणमा देखिएका समस्या समाधानका लागि विभिन्न निर्णय गरेको छ ।

    अझै पनि उपभोक्ताबाट ग्यास वितरण सम्बन्धी गुनासो आइरहेको भन्दै वितरण व्यवस्थापनमा देखिएका समस्या, कारण तथा अभिलेख प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको छ ।

    यसअघि भएका निर्णयको कार्यान्वयनमा ग्यास डिलरहरूले गरेका काम तथा नगरपालिका र वडा कार्यालयबाट भइरहेको अनुगमनको अवस्थाबारे समेत बैठकमा समीक्षा गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

    बैठकले ग्यास डिलरहरूले आफ्ना थोक तथा खुद्रा विक्रेताहरूको विस्तृत सूची तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकामा बुझाउनुपर्ने निर्णय गरेको छ ।

    त्यस्तै, कुनै खुद्रा विक्रेताबाट गम्भीर किसिमको लापरवाही भएको पाइएमा सम्बन्धित डिलरले पहिलो चरणमा चेतावनी दिने, वडा कार्यालयले सूक्ष्म अनुगमन गर्ने तथा कारबाही गर्नुपर्ने अवस्था देखिएमा नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने निर्णय गरिएको तिवारीले जानकारी दिए ।

    उपभोक्ताले सहज र पारदर्शी रूपमा ग्यास प्राप्त गर्न सकून् भन्ने उद्धेश्यले प्रशासनले वितरण प्रणालीमाथि निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ ।

    बैठकमा व्यास नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र हड्खले, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष इमकुमार मल्ल, एकीकृत सेवा कार्यालय तनहुँका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर थापा, शुभलक्ष्मी सप्लायर्सका सञ्चालक सुमन श्रेष्ठ, रामचन्द्र सप्लायर्सका रामचन्द्र अधिकारी, दमौली ग्यास विक्री केन्द्रका दानबहादुर घर्ती सहभागी थिए ।