


दमौली, १९ भदौ । त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएपछि उद्धार कार्य थप आशाजनक बनेको छ। तनहुँ–२ का सांसद श्रीराम न्यौपानेले उद्धारमा खटिएको नेपाली सेनाबाट सुरुङभित्र मानिसको आवाज आएको जानकारी प्राप्त भएको बताएका छन्।
उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्र रूपमा अगाडि बढाइरहेको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु सकुशल उद्धारको सम्भावना बढाउने आशाजनक संकेत भएको सांसद न्यौपानेले बताएका छन्।
सांसद न्यौपानेले आफू हिजो साँझसम्म इन्जिनियरको भूमिकामा घटनास्थलमै रहेर खोज तथा उद्धार कार्यमा संलग्न रहेको जानकारी दिएका छन्। अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि सवारीमार्फत काठमाडौं फर्कने तयारी रहेको उनले बताएका छन्।
उद्धार कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सांसद न्यौपानेले सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइने आशा व्यक्त गरेका छन्।