चिलिमे सुरुङमा ४ शव र मानव अंग फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चिलिमे सुरुङमा ४ शव र मानव अंग फेला

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८३, बुधबार

    काठमाडौं, ३१ भदौ । नेपाली सेनाले रसुवा र नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। भाद्र ३१ गते साँझ ६ः३० बजेसम्म नेपाली सेनाको हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १७७ जनाको उद्धार गरिएको छ।

    चिलिमे हाइड्रोको सुरुङमा गोताखोरसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा बुधबार सुरुङको ब्रेकथ्रु गरी अन्तिम किनारासम्म पुगेर खोजी गर्दा ४ वटा शव र एक मानव अंग फेला पारेको नेपाली सेनाले जनाएको छ। फेला परेका शव तथा मानव अंगलाई सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। यसअघि भाद्र १५ गते पनि सोही सुरुङबाट एक शव र एक मानव अंग फेला परेको थियो।

    लाङटाङ जलविद्युत आयोजना, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ का सुरुङ तथा प्रभावित क्षेत्रमा पनि संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ। त्रिशूली–३ ‘बी’ क्षेत्रमा एक्साभेटर र लोडर प्रयोग गरी खोजी गर्दा दुई आवास भवनको प्लिन्थ क्षेत्रबाहेक अन्य संरचना फेला नपरेको सेनाले जनाएको छ।

    रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा सहयोग गरिरहेका छन्।

    नेपाली सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट बुधबार ४५ जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म उक्त सेवाबाट ३ हजार ९३४ जनाले उपचार तथा स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

    यस्तै, पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतलबजारमा बाढीका कारण भासिएको सडक खुलाउन भित्तातर्फको कडा चट्टान ब्लास्टिङमार्फत हटाउने काम भइरहेको सेनाले जनाएको छ। चिलिमे क्षेत्रमा विद्युत् प्रवाहका लागि तार बिछ्याउने कामसमेत भइरहेको छ।