


काठमाडौ, १ असोज । अस्ट्रेलियाको संघीय सरकारले आप्रवासन प्रणालीमा कडाइ गर्दै भिसा अवधि सकिएपछि पनि बस्ने, एउटा अस्थायी भिसाबाट अर्को भिसामा निरन्तर परिवर्तन गर्ने तथा प्रणालीको दुरुपयोग गर्नेहरूमाथि लक्षित नयाँ नियम ल्याएको छ ।
गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार नेसनल प्रेस क्लबमा नयाँ आप्रवासन सुधार सार्वजनिक गर्दै सरकारको लक्ष्य शुद्ध वैदेशिक आप्रवासन (नेट ओभरसिज माइग्रेसन) लाई हालको करिब २ लाख ९२ हजारबाट आगामी वर्षसम्म २ लाख २५ हजारमा झार्ने रहेको बताएका छन् ।
बर्कका अनुसार सरकारले आप्रवासनलाई समर्थन गरे पनि आप्रवासन प्रणालीको दुरुपयोग गर्ने गतिविधि स्वीकार नगर्ने नीति लिएको छ ।
नयाँ व्यवस्थाअन्तर्गत भिसा अवधि सकिएपछि अस्ट्रेलियामै बसिरहनेलाई लक्षित गरिनेछ । विद्यार्थी भिसा प्रयोग गरेर अर्को भिसामा निरन्तर जाने ‘भिसा हपिङ’ रोक्न पनि नियम कडा बनाइनेछ ।