बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी, ४ हजार १९१ जनाको हवाई उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी, ४ हजार १९१ जनाको हवाई उद्धार

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८३, बिहीबार

    काठमाडौं, १ असोज । बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। आश्विन १ गते साँझ ६ः३० बजेसम्म सेनाले हवाई साधनमार्फत प्रभावित क्षेत्रबाट ४ हजार १९१ जनाको उद्धार गरेको जनाएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९०८ जना नेपाली र २८३ जना विदेशी रहेका छन्।

    माथिल्लो त्रिशूली– आयोजनाको टनेलभित्र संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ। खोजीका क्रममा फेला परेका मानव अङ्ग तथा शव निकाल्ने कार्य भइरहेको नेपाली सेनाले जनाएको छ।

    त्यस्तै, त्रिशूली–३ए को टनेल र पावरहाउस क्षेत्रमा खोजी जारी छ। त्रिशूली–३बीको पावरहाउस क्षेत्रमा तीनवटा एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन गरिए पनि हालसम्म केही फेला परेको छैन।

    रसुवा र नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ। स्याफ्रुबेँसी क्षेत्रमा तीनवटा समूह परिचालन गरिएको छ भने दुर्गम तथा सडक सम्पर्कविहीन क्षेत्रमा ड्रोनमार्फत राहत सामग्रीसमेत ढुवानी भइरहेको छ।

    नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ८ हजार ७ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा सहयोग गरिरहेका छन्।

    यसैबीच, त्रिशूली र धुन्चेमा सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज २८ जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म उक्त सेवाबाट ३ हजार ९६६ जना लाभान्वित भएका छन्।

    बाढीका कारण भासिएको धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतलबजारको सडक खुलाउने काम भइरहेको छ। बेत्रावती नदीमा अस्थायी पुल निर्माणका लागि पनि नेपाली सेनासहितका सुरक्षा फौज परिचालन गरिएको छ।