


तनहुँ, २५ असोज । बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको भन्दै तनहुँको त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेकाले तनहुँको आँबुखैरेनी र देवघाट क्षेत्रका नदी तटीय बासिन्दालाई विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले अपिल गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यकताअनुसार सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
त्यस्तै, बाढीसम्बन्धी कुनै सूचना प्राप्त भएमा तत्काल नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
बाढीको जोखिम कायम रहेकाले नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन र सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न प्रशासनले आग्रह गरेको छ ।