बुढीगण्डकीमा बाढीको वितण्डा : दुई झोलुङ्गे र एक फलामे पुल बगायो, घरहरूमा क्षति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बुढीगण्डकीमा बाढीको वितण्डा : दुई झोलुङ्गे र एक फलामे पुल बगायो, घरहरूमा क्षति

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८३, आईतवार

    गोरखा, २५ असोज । चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच पहिरो खसेर थुनिएको बुढीगण्डकी नदीमा आएको बाढीले विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाउनुका साथै घर तथा टहरामा क्षति पुर्‍याएको छ।

    बाढीका कारण गोरखाका विभिन्न स्थानीय तहमा भौतिक संरचनामा क्षति पुगेको हो। प्राप्त विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।

    त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछिखोलास्थित तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र त्यति नै सङ्ख्यामा रहेका टहरामा बाढी पसेको विवरण प्राप्त भएको छ।

    बाढीका कारण धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर जोखिममा परेका छन्।

    यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ। पुल बगाउँदा उक्त क्षेत्रको आवागमनमा समेत समस्या उत्पन्न हुने देखिएको छ।

    बुढीगण्डकी नदीमा आएको बाढीले बस्ती, घर तथा पुलमा क्षति पुर्‍याएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आवश्यक देखिएको छ। नदीको बहाव र जोखिमयुक्त क्षेत्रको अवस्थालाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।

    बाढीबाट भएको क्षतिको थप विवरण सङ्कलन तथा जोखिमयुक्त क्षेत्रको अवस्थाबारे निगरानी आवश्यक रहेको छ।