‘अनलाइन कक्षा सम्भव छैन’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘अनलाइन कक्षा सम्भव छैन’

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, बुधबार

    तनहुँ : चैत दोस्रो साता परीक्षा चल्दै गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्यो भन्दै रोकिएको विद्यालय तहको पढाई नयाँ शैक्षिक शत्र शुरु भएको पाँच महिना बित्दा समेत सुचारु हुन सकेको छैन । यो बीचमा केही विद्यालयले अनलाइन कक्षा सञ्चालन, टोलटोलमा पुगेर सिकाई सहजीकरण गर्ने र विद्यालयमा कक्षा सञ्चालन पनि नगरेका होइनन् । तर यी सबै प्रयास त्यतित सफल हुन सकेन ।


    पछिल्लो समय शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका जारी गर्दै सोही बमोजिम असोज १ गतेबाट सिकाई सहजीकरण थाल्न अनुरोध गरेपछि शुक्लागण्डकी नगरपालिकाले पनि तयारी थालेको छ ।


    नगरपालिकाको शिक्षा शाखाले के कसरी सिकाई सहजीकरण गर्न सकिन्छ भनेर मङ्गलबार विद्यालयका प्रधानध्यापक र व्यवस्थापन समितिका अध्यक्षसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागी प्रधानाध्यापक तथा अध्यक्षले महामारी फैलिरहेको बेलामा विद्यार्थी सुरक्षित रहने र अभिभावक सशङ्कित नहुने गरी कक्षा सञ्चालनमा जोड दिए । सबैको पहुँचमा नभएकाले अनलाइन कक्षा सञ्चालन सम्भव नभएको उनीहरुको भनाई थियो ।


    हंशवाहिनी माध्यमिक विद्यालय एक्लेखेतका प्रधानाध्यापक विजयराज पौडेलले लकडाउन हुने बित्तिकै अनलाइन कक्षा सञ्चालनको अभ्यास थालेपनि सफल नभएको बताउनुभयो । “शिक्षकमा अनलाइन कक्षा चलाउने अभ्यास नहुँदा ज्ञान भएन । विद्यार्थी प्रविधिको पहुँचमा नभएकाले प्रभावकारी देखिएन,” उहाँले भन्नुभयो । उहाँले धेरै विद्यार्थी र अभिभावकको पहुँचमा रहेको स्थानीय एफएमबाट वैकल्पिक कक्षा सञ्चालन गर्दा उपयुक्त हुने बताउनुभयो ।

    अमरज्योति माध्यमिक विद्यालय थप्रेकका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्रराज वाग्लेले नयाँ प्रविधिको प्रयोग गर्दै सिक्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । विद्यार्थी सङ्ख्या कम भएका विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै कक्षा सञ्चालनमा ल्याउनुपर्ने उहाँको सुझाव छ ।

    सामाजिक विकास विकास समिति अध्यक्ष एवम शुक्लागण्डकी–६ का अध्यक्ष कृष्णबहादुर पौडेलले कोरोना भाइरस समुदायमा फैलिरहेकाले नीति बनाएर विद्यालय सञ्चालानमा जोड दिनुभयो । प्रविधिको पहुँच नभएको बहानामा विद्यार्थीलाई पढ्न वञ्चित गराउन नहुने उहाँले उल्लेख गर्नुभयो ।


    शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले वैकल्पिक कक्षा सञ्चालनका लागि मानसिक रुपमा तयार हुन शिक्षकहरुलाई अनुरोध गर्नुभयो । “प्रविधिको पहुँच छैन भनेर उम्कन पाइँदैन, अनिवार्य शिक्षक प्रविधिमैत्री हुनुपर्छ । त्यसका लागि नगरपालिका लगानीसँगै समन्वय गर्न तयार छ ।” शिक्षा मन्त्रालयको निर्देशिका मातहतमा रहेर वैकल्पिक कक्षा सञ्चालन हुने उहाँले बताउनुभयो ।


    नगरपालिकाको १२ वडामध्ये मङ्गलबार वडा नम्बर १, २, ११ र १२ गरी चारवटा वडाका सामुदायिक विद्यालयका प्रधानध्यापक र अध्यक्षसँग अन्तरक्रिया गरिएको हो । बुधबार बाँकी वडाका विद्यालय र बिहीबार निजी विद्यालयसँग अन्तरक्रिया गरिने शिक्षा शाखा प्रमुख उपसचिव नवराज चापागाईले बताउनुभयो । विद्यार्थीको पहिचान, वर्गीकरण, विद्यालयबाहिर रहेकालाई भर्ना गर्ने र सम्भव भएका विद्यालय खुलाउनेबारे सहजीकरण गरिएको उहाँले बताउनुभयो ।