तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–४ सानो डुम्रेस्थित चुँदीखोलामा करेन्ट लगाई माछा मार्ने ९ जनालाई जरीवाना गराइएको छ । अवैध रुपमा खोलामा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा पक्राउ परेका ९ जनालाई जनही रु पाँच हजारका दरले जरीवाना गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीले करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा भानु नगरपालिका–१ कल्याणटार बस्ने विशाल परियार, सन्तोष परियार, श्रवण तामाङ, प्रदिप तिरुवा, श्याम भुजेल, राज कुमाल, प्रदिप कुमाल, विनोद परियार र सम्राट तामाङलाई पक्राउ गरेको थियो ।
प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार निजहरुलाई जलचर ऐन २०१७ बमोजिम जिल्ला प्रशासन कार्यालय तनहुँबाट जरीवाना गराइएको छ ।