पाेखरा : गण्डकी प्रदेशमा शुक्रबार एक सय ९६ कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकीका आठ जिल्लामा एक सय ९६ सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबैभन्दा बढी कास्कीमा एक सय आठ र सबैभन्दा कम गोरखामा एक जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नवलपुरमा २९, तनहुँमा २७, स्याङ्जामा १२, बागलुङमा १२, लमजुङमा तीन र पर्वतमा चार जना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा पर्वतका ६४, गोरखाका चार, लमजुङका ११, तनहुँका ९१, कास्कीका चार सय ८४, बागलुङका ७८, स्याङ्जाका ३८ र नवलपुरका १ सय ७० स्वाब परीक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा गण्डकी प्रदेशमा चार जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा कुल सङ्क्रमित ८ हजार ७ सय ३९ पुगेको छ भने ४ हजार ८ सय ३५ निको भएका छन् । ३ हजार ८ सय ४ सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ३३ जना निको भएका छन् ।