तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारको अन्त्य र सुशासनको लागि पुनः सङ्घर्ष गर्नुपर्ने बेला आएको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामाथि निर्माण भएको पक्की पुलको बिहीबार उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सरकारले जनभावना अनुसार काम नगरेकाले फेरि सङ्घर्ष गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
काङ्ग्रेस र देशका लागि तनहुँले सधैँ वैचारिक नेतृत्व गरेकाले अझै पनि त्यसका लागि तनहुँ सक्षम रहेको पौडेलको भनाई थियो । बुधबार पुलको उद्घाटन गर्न जाने क्रममा प्रहरीले दमन गरेको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले लोकतन्त्र आएपछि पनि प्रहरी दमन विद्यमान रहेकाले लोकतन्त्र साकार हुन सिद्ध रहेको उल्लेख गर्नुभयो ।
विकास निर्माणको काममा अनावश्यक राजनीति भएको भन्दै पौडेलले विकासमा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । केही नेताहरुले राज्यकोषको ढुकुटी दुरुपयोग गरेर जनता झुक्याउने काम गरिरहेको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले त्यसप्रति जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो । विकास निर्माणका लागि काङ्ग्रेस सत्तामा नभएपनि प्रतिबद्ध रहेको पौडेलको भनाई थियो ।
वरिष्ठ नेता पौडेलले केपी ओलीको लोकतन्त्र र गणतन्त्र ल्याउन कुनै भूमिका नरहेको उल्लेख गर्नुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्रको कारण केपी ओली राष्ट्रवादको हिरो भएको आरोप लगाउँदै पौडेलले भन्नुभयो, “केपी ओली ज्यान मारेको आरोपमा जेल बसेका हुन्, कुनै आन्दोलनमा होइन ।”
कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी चुनावपछि काङ्ग्रेस पहिलो पार्टी बन्ने दावी गर्दै काङ्ग्रेस एक हुन आवश्यक रहेको बताउनुभयो । गत निर्वाचनमा भएको हारको समिक्षा गर्दै अबको चुनावका लागि तयारी गर्नुपर्नेमा जोड दिँदै भण्डारीले सबै सच्चिनु जरुरी रहेको बताउनुभयो ।
केन्द्रीय सदस्य गोविन्द भट्टराईले विकास र विचारमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिँदै काङ्ग्रेसलाई एकढिक्का बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालमा अझै पनि राजनीतिक संस्कारको विकास हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्ले, गण्डकी प्रदेश सांसद कृष्णचन्द्र नेपाली जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले विकासका सवालमा काङ्ग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
विसं २०७३ वैशाखमा शुरु भएको ४५ मिटर लामो पुल विसं २०७५ कात्तिक ९ गते सम्पन्न भएको हो । तत्कालिन जिल्ला विकास समिति मार्फत् रु दुई करोड ५४ लाखमा निर्माण सम्पन्न भएको पुलले रानीगाउँ, डिहीगाउँ, शेवर, दुम्सीचौर, दुम्सीकोट, निर्बु, वराहखोला, अधेरीभञ्ज्याङ, पोखरेलफाँट लगायतका वासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले जानकारी दिनुभयो । विगतमा पुल नहुँदा कजवेबाट आवतजावत गर्नुपर्दा वर्षायाममा निकै सास्ती हुने गरेको स्मरण गर्दै अधिकारीले पुल निर्माणपछि सर्वसाधारणलाई राहत मिलेको बताउनुभयो ।