भानुमा स्वास्थ्य अधिकारकाे सवालबारे छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुमा स्वास्थ्य अधिकारकाे सवालबारे छलफल

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०७७, बिहीबार

    तनहुँ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम बुधबार भानु नगरपालिकामा सम्पन्न भएको छ ।
    नगरपालिकाले स्वास्थ्य सम्बन्धि तयार गरेको नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था तथा स्वास्थ्यको क्षेत्रमा सञ्चालन भईरहेको कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयाेजना गरिएकाे हाे ।

    कार्यक्रममा नगरपालिकाका उपप्रमुख आशा थापाले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएको हुँदा नगरपालिकाले पनि नागरिकको स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा राखेर योजनाहरु बनाएको बताउनुभयाे । सबै वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना, निशुल्क औषधीको वितरणको व्यवस्था, जेष्ठ नागरिकको घर घरमै पुगी स्वास्थ्य परिक्षण, स्वास्थ्य केन्द्रहरुमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धता लगायतको नगरपालिकाले व्यवस्थापन गरेको उपमेयर थापाको भनाई थियाे ।

    नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले जनताले तिरेको करबाट सरकार र स्थानीय तहले प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गरेपनि त्यस्ता संस्थामा नागरिकको उपस्थिती निकै कम हुने गरेको बताउनुभयाे । तनहुँ जिल्लामै सुरक्षित सुत्केरी गराउने अस्पतालको रुपमा पुरनडिही अस्पताललाई लिने गरेको भन्दै पाण्डेले अन्य स्वास्थ्य संस्थाले पनि प्रभावकारी रुपमा सेवा दिईरहेको बताउनुभयाे।

    वडा नम्बर ४ का अध्यक्ष पुर्णबहादुर लौडारी र वडा नम्बर ६ का अध्यक्ष टिकाराम हड्खलेले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरु बनाईएको बताउनुभयाे । नगरपालिकाका न्यायिक समितिका सदस्य कृष्णराज ढकालले नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्यको हकलाई सबैभन्दा प्रभावकारी रुपमा प्रदान गर्नु पर्ने बताउनुभयाे । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले नागरिकको स्वास्थ्य प्रति संवेदनशिल भएर काम गर्न सम्पूर्ण स्वास्थ्यकर्मीलाई निर्देशन दिईएको बताउनुभयाे । स्वास्थ्य संस्थामा भएको कमजोरी प्रति नगरपालिका सचेत भएको भन्दै जिम्मेबार नागरिकले कमीकमजोरीहरु सार्वजानिक स्थानमा भन्नु भन्दा पनि जिम्मेवार प्राप्त व्यक्तिलाई जानकारी गराएमा चाँडै्र समाधान हुने उहाँको भनाई थियो ।

    स्वास्थ्य शाखा प्रमुख भट्टराईका अनुसार हालसम्म एक हजार एक सय पाँच जनाको पिसिआर परीक्षण गरिएकोमा एक सय २३ जना जना संक्रमित भएको र त्यस मध्ये हाल ५ जना मात्रै सक्रिय संक्रमितको रुपमा होम आईसोलेसनमा रहेका छन् । सो कार्यक्रममा जनस्वास्थ्य अधिकृत जेनी राना मगरले पनि स्वास्थ्य शाखाबाट सन्चालित कार्यक्रमको बारेमा जानकारी दिनुभएकाे थियाे ।


    मानवअधिकार समुहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा भएको सो कार्यक्रममा भानु महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाकी अध्यक्ष रुपा लामा, मानवअधिकार समुहकी सदस्य खिमसरा गुरुङ, लगायतले स्वास्थ्यलाई प्राथमिकतामा राखेर कगाार्यक्रम गर्नुपर्ने बताउनुभयाे । सो कार्यक्रमको सन्चालन इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गर्नुभएकाे थियाे ।