देशभर चिसो बढ्यो : काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै कम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशभर चिसो बढ्यो : काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै कम

    खबरपुञ्ज संवाददाता

    १० पुष २०७७, शनिबार

    काठमाडौ: काठमाडौंको शनिबार बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । काठमाडौंको शनिबार बिहानको तापक्रम १ दशमलव ३ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको हो । यसअघि पुस ३ गते काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

    शुक्रबार बिहान २ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम शनिबार बिहान १ डिग्रीले घटेको हो । काठमाडौंको शनिबार दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । 

    मौसमविद् शाक्यका अनुसार शनिबार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुँदै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

    यस्तै राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ । ​

    शनिबारकोभन्दा आइतबार मौसम बदली हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुँदै बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी वायुको प्रभावले बदली हुन लागेको मौसमविद्ले बताएका छन् । 

    पश्चिमी वायुकै प्रभावले अहिले तराईका थोरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भु–भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।