आठ गाउँका मिलेर मनाए ल्होसार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आठ गाउँका मिलेर मनाए ल्होसार

    खबरपुञ्ज संवाददाता

    १५ पुष २०७७, बिहीबार

    तनहुँ :मुसा वर्गको विदाई र गाई वर्गको स्वागत गरी गुरुङ समुदायले बुधबार तमु ल्होसार मनाएका छन् । १५ पुसलाई नयाँ वर्ष मान्ने परम्परा अनुसार गुरुङ बस्तीमा शुभकामना आदानप्रदान सहित विभिन्न कार्यक्रम गर्दै ल्होसार मनाईएको हो ।

    गुरुङ सुमदायको बाहुल्यता रहेको जिल्लाको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा आठ गाउँका गुरुङ समुदाय एउटै थलोमा भेला भएर ल्होसार मनाएका छन् । कोरोना महामारीकै बीचमा पनि यसपाली यहाँका गुरुङ समुदायका केटाकेटीदेखि बूढापाकासम्म वडाको केन्द्र ढोर लामागाउँमा जम्मा भएर सामूहिक रुपमा ल्होसार मनाएका हुन् ।

    तमु ह्युला छोंज धि शुक्लागण्डकी–१२ को आयोजनामा भएको कार्यक्रममा ढोर लामागाउँ, घरेडी, बराहाडाँडा, भोर्ले, लाकुरीबोट, जस्पुर, रातमाटा र ढोर तालबेँसी गाउँका ढोर लामागाउँ पुगेर शुभकामना आदनप्रदान गरे । फरक गाउँको फरक परिकार सहित सामूहिक भोज भयो । सामूहिक नाचगान समेत गरियो ।

    आफ्नो समुदायमा आत्मीयता बढाउने भएकाले सामूहिक रुपमा ल्होसार मनाएको तमु ह्युला छोंज धि का अध्यक्ष भिम गुरुङले बताउनुभयो । ‘वर्षमा एक पटक भएपनि एकै ठाउँमा भईने । सुखदुख साट्न पाईने । नयाँ पुस्तामा संस्कार संस्कृति हस्तानतरण गर्ने मौका जुर्ने भएकाले सामूहिक मनायौँ,’ उहाँले भन्नुभयो । गत वर्षदेखि सामूहिक रुपमा आठ गाउँका मिलेर ल्होसार मनाउन थालेको उहाँले जानकारी दिनुभयो । त्यो भन्दा अगाडीसम्म आ–आफ्नो गाउँमा मात्र सामूहिक भोज गरेर मनाउने प्रचलन थियो ।

    बुधबारको सामूहिक कार्यक्रमको प्रमुख अतिथि बनेर पुग्नुभएको थियो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ । उहाँ जसपुरमा हुर्के बढ्नुभएको हो ।
    गाउँबासी र आफ्नो जनसमुदायलाई सम्बोधन गर्दै उहाँले गुरुङ समुदायको संस्कृति पर्यटनको प्याकेज भएको बताउनुभयो । ‘अब हाम्रो परम्परा र संस्कृति जोगाएर पर्यटक आकर्षित गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘आम्दानीको स्रोत बन्नेछ ।’ गुरुङ भाषा लोप हुने अवस्थामा पुगेकाले सिकाउने अभियान थाल्नुपर्ने उहाँले बताउनुभयो । नयाँ पुस्तामा संस्कार संस्कृति हस्तानतरणको आवश्यकता समेत गुरुङले औल्याउनुभयो । गुरुङ समुदाय शैक्षिक क्षेत्रमा पछाडी परेकाले शिक्षामा जोड दिन प्रमुख गुरुङको सुझाव थियो ।

    यहाँ भएको ल्होसार विशेष कार्यक्रममा गाउँस्तरीय भलिबल, घैँटो फुटाई, छेलो हान्ने र ढिडो खाने लगायतका प्रतियोगिता भएको छ ।