एजेन्सी : स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले हुएस्कामाथि १–० को साँघुरो जित दर्ता गरेको छ । बार्सिलोनाले हुएस्कालाई उसकै मैदानमा हराउन सफल भएको हो ।
बार्सिलोनाको जितमा फ्रान्की डि जोङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २७औं मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा गोल गरेका थिए ।
खेलको सातौ मिनेटमा नै रोड्रीको प्रहारलाई घरेलु टोलीका गोलरक्षक फर्नान्डेजले बचाएका थिए । नवौं मिनेटमा बार्सिलोनाका लागि ५००औं खेल खेलिरहेका कप्तान लियोनेल मेस्सीले गोल गर्ने सुवर्ण अवसर खेर फाले ।
१८औं मिनेटमा औसमाने डेम्वेलेको प्रहारलाई हुएस्काका कप्तान तथा डिफेन्डर पुलिडोले ब्लक गरे । २१औं मिनेटमा पेड्रीले अर्काे सुवर्ण अवसर खेर फाल्यो । ४१औं मिनेटमा मेस्सीको फ्रिकिकलाई हुएस्काका गोलरक्षक फर्नान्डेजले उत्कृष्ट बचाउ गरे ।
५६औं मिनेटमा डेम्वेलेले गोल गर्न सकेनन् ।५३औं मिनेटमा राफा मिर चुक्दा हुएस्काले खेललाई बराबरी गर्ने सुवर्ण अवसर गुमायो । ६८औं मिनेटमा मेस्सीको प्रहारमा गोलरक्षक फर्नान्डेज नै बाधक बने ।
७०औं मिनेटमा ओन्टिभेरोसको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पारे । ७७औं मिनेटमा डेम्वेलेको प्रहारलाई फर्नान्डेजले विफल पारे । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना १–० ले विजयी हुन सफल भयो ।
यस नतिजासँगै बार्सिलोना १६ खेलबाट २८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग १० अंकले पछि छ । पराजित हुएस्का १२ अंक जोडेर पुछारमा छ ।