काठमाडौं : आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।
नेपाल विश्व मानचित्रमा सदैव एक स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहिआएको छ । विसं १७७९ पुस २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायणले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफलता हासिल गर्नुभएको थियो ।
नागरिकको इच्छा र चाहनाबाट नै मुलुकको शासन सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई उहाँले अनुसरण गर्नुभयो । नेपालको भूअवस्थितिको आत्मबोध गर्नुभएका पृथ्वीनारायणले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्न सदा स्मरणीय सन्देश छाडेर जानुभएको छ । उहाँका उपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएका छन् ।