लौरो टेक्दै खोप केन्द्रमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लौरो टेक्दै खोप केन्द्रमा

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०७७, आईतवार

    दुलेगाैडा : तनहुँको भीमाद नगरपालिका–९ अस्पाक्दीकी ९१ वर्षीया तिलीसरा आले पाँच बज्नै लाग्दा रिठाभञ्याङमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा पुग्नुभयो । त्यहाँ रहेको कोरोनाको खोप केन्द्रमा उहाँलाई स्वास्थ्यकर्मीले ‘कोभि शिल्ड’ लगाइदिए ।

    खोप लगाएपछि स्वास्थ्य केन्द्रसँगै रहेको वडा कार्यालयमा उहाँले आधा घण्टा टेलिभिजन हेरेर बिताउनुभयो । वडाले खबर गरेपछि ढुक्क भएर खोप लगाउन आएको उहाँको भनाई छ । “सबैले लगाएको खोप लाउनलाई के का डर,” उहाँले भन्नुभयो ।

    शुक्लागण्डकी–३ कवासेका ७२ वर्षीय कमलराज शर्मा पौडेलले दुलेगौडा बजारमास्थित खैरेनीटार स्वास्थ्य चौकीमा पुगेर खोप लगाउनुभयो । पहिला ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने भन्दा उहाँलाई शङ्का लाग्या थ्यो रे । “पहिला त सरकारले ६५ वर्षमाथिकालाई खोप दिने भन्दा केही खतरा भएर मरेनी यिनै बुढाबुढी पहिला मरुन भनेर होला की भन्ने शङ्का नि थियो । पछि ठूलाठूला मान्छेले नि लगाए रे भनेसी त्यस्तो हैन भन्ने भो,” उहाँले भन्नुभयो, “आज त आफैले पनि ढुक्क भएर खोप लगाएको छु ।” खोप लगाएपछि कोरोना लाग्दैन् भन्ने उहाँलाई लागेको छ ।

    फागुन २३ देखि दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई ‘कोभिशिल्ड’ लगाउने अभियान देशभर चलेको छ । सोही अनुसार तनहुँमा पनि खोप अभियान चलेको छ ।

    खोप लगाउन तोकिएको खोप केन्द्रसम्म उत्साहका साथ ज्येष्ठ नागरिक लौरीको सहारामा आएका छन् । कतिलाई आफन्तलाई खोप लाउन डो¥याउँदै ल्याएको देखिन्छ । ज्येष्ठ नागरिकलाई असहज नहोस् भनेर खोप केन्द्रमा पनि बसाईको व्यवस्था मिलाईएको छ । कतिपय स्थानमा खोप केन्द्र टाढा हुँदा सास्ती भोग्नु परेको छ । ग्रामीण भेगमा नजिक स्वास्थ्य केन्द्र नहुँदा बुढेसकालमा घण्टौँको बाटो पैदल हिँडेर पुग्नुपर्ने बाध्यता रहेको छ ।

    खोप लगाउन ज्येष्ठ नागरिकको सक्रिय सहभागिता रहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्त बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बुढाबुढीलाई पनि सरकारले प्राथमिकता दिएर खोप लगाउन दियो भन्दै खुशी व्यक्त गर्नुभएको छ ।”
    तनहुँमा फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा ६५ बर्ष माथीकालाई खोप लगाई सकिएको छ । यी स्थानिय तहमा ४६ केन्द्रबाट नौ हजार दुई सय २७ जना जेष्ठ नागरिकले ‘कोभि शिल्ड’ लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँका कोल्डचेन असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।

    शुक्रबारदेखि तनहुँका बाँकी पाँच स्थानीय तहमा पनि दोस्रो चरणको पहिलो प्राथमिकताको खोप अभियान चलेको छ । शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा शुक्रबारदेखि खोप अभियान चलेको हो ।

    चैत २ गतेसम्म यी स्थानिय तहमा ज्येष्ठ नागरिकलाई खोप लगाईनेछ । दोस्रो चरणमा जिल्लाभर १८ हजारको हाराहारीमा ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य रहेको उहाँले जनाउनुभयो ।

    खोप लगाउनका लागि जिल्लाका दश स्थानीय तहमा ९४ वटा खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियान सञ्चालनका लागि दुई सय ६६ स्वास्थ्यकर्मी र ४ सय २५ जना स्वयंसेवक परिचालन गरिएको छ ।

    सबै पालिकामा खोप अभियानको चिकित्सक सहितको एईएफआई टिम परिचालन गरिएको छ । तनहुँमा पहिलो चरणमा चार हजार नौ सय ६७ जनाले खोप लगाएका थिए । पहिलो चरणमा फ्रन्टलाईनर स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, पत्रकार लगायतलाई खोप लगाईएको थियो ।