कहाँ आउँछ नयाँ बर्ष?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    कहाँ आउँछ नयाँ बर्ष?

    रजिनलाल श्रेष्ठ

    ३० चैत्र २०७७, मंगलवार

    न्यूटनको चालको नियमले
    ”प्रत्येक क्रिया बराबरको ठीक उल्टो प्रतिक्रया हुन्छ“ भने झैं
    गयो विगत बर्ष आयो आगत बर्ष,
    समय उही छ ।
    मात्र, भित्तामा क्यालेण्डरका पाना बदलियो,
    कहाँ आयो खै नव बर्ष ?
    केही नयाँ मूल्य, र मान्यता
    लिएर आए पो, आउँछ नवबर्ष ।
    खाली, उही एउटैै काम, खोज बाबु माम नहराईकन,
    गालाको चाउरीमा मुजाको अर्को धर्सा थपिदैमा
    कसरि आउँछ नवबर्ष? कहाँ आउँछ नया“ बर्ष ?
    नयाँ बर्ष आउनलाइ त
    केही पुरातन सोच भत्कनै पर्छ, हराउनै पर्छ
    केही त नयाँ आउनै पर्छ, अनी आउँछ नया बर्ष ।
    केही नभए धनमायाको,
    ध्वाँसोले पोतिएको अँध्यारोे निधारभरि
    उषाको उज्यालो प्रताप भएर आउनु पर्छ
    अनि आउँछ नवबर्ष, त्यै पनि नभए
    छात्तिका चौताराभरि, मनका कुना कन्दराभरि
    सदभाव र सम्भावनाका पोका भएर आउनु पर्छ
    मृगतृष्णाको खडेरी टार्ने फोका भएर आउनु पर्छ
    त्यो पनि नभए, एक मुठ्ठि साहस भएर आउनु पर्छ
    अनि पो आउँछ नवबर्ष ।
    नत्र सँधैको, उही चुनावताका नेताले देखाउने
    एक मुठ्ठि आश हो भने खै कहाँ आयो नवबर्ष ?
    धनवीरेको फाटेको कछाडमा ?
    श्रम र घामले डढेको साहिंलाको ललाटमा ?
    कृष्णलालको गरीविले चाटेको दौरामा ?
    साहिँलीले वैससंग साटेको पछ््यौरामा ?
    कि, हाकिमहरुको कोठाको भित्ते पानामा
    कहाँ आयो नवबर्ष ?
    त्यसै आउँछ नवबर्ष ?
    नवबर्ष त आउँछ, त्यसदिन एक दिन, नयाँ दिन ।।
    जुन दिन,
    यी पुरातन मान्यताका घैंटोहरु बर्षको मसान्तसँगै
    मक्किएर, चुहिएर, छचल्किएर पोखिने दिन
    धनवीरे र कृष्णलालको भोको पेटमा
    चाराको आहारा फल्ने दिन
    साहिंली र माहिली आफ्नो लालावालाहरुसंग
    आँगनमा फिंजाएको परालको भारीमा
    लुकामारी खेलेर अघाएको दिन
    अरु क्यै नआए नि त्यस दिन
    थोत्रा लालटेन बदलेर,
    चेतनाको ज्योति बनेर आउनु पर्छ
    चिन्ताको अँध्यारो आँगनमा
    घामको उज्यालो खुशी, भएर आउनुपर्छ
    धनवीरे र कृष्णलालहरु
    स्कुलबाट फर्केंका नातिनातिनाहरुलाई
    घरदैलो संघारमा स्वागतार्थ पर्खदा
    दुई अधरबीच आशाको मनोरम मुस्कान भएर आउनु पर्छ ।
    त्यो नि नभए जुन दिन
    धनवीरे र कृष्णलालको श्रमका थोपाहरु
    बर्षामा रुपान्तरित भएर कुला खेत सिंचित भई
    अन्नका लहहल बाला भएर आउनु पर्छ
    तिनीहरुको गुम्सिएका हिम्मत
    सुुरिएर आउनु पर्छ, मुठ्ठि कस्सिएर आउनु पर्छ
    अनि आउँछ त्यो दिनः नया बर्ष, नयाँ दिन ।