तनहुँ : भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ र सेवाग्राही चिरञ्जीवि खनालबीचको मुक्का प्रहार प्रकरणलाइ भिमाद नगरपालिकाले सामान्य घटनालाई अतिरञ्जित गरिएको जनाएको छ ।
शुक्रबार भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाद्वारा हस्ताक्षरित अपिलमा भिडियो क्लिप्स सहित सामाजिक सञ्जालमा आएको विषयमा नगरपालिकाको गम्भीर ध्यानआकर्षण भएको जनाईएको छ ।
अपलिमा भनिएको छ, ‘२०७८÷०१÷०९ मा वडा अध्यक्ष वडा कार्यालयबाट बाहिर स्थलगत अनुगमनमा रहेको अवस्थामा एक जना सेवाग्राहीले जग्गा सम्बन्धि सिफारिस माग गर्न आएको र सोही क्रममा निज सेवाग्राहीसँग सम्बन्धित जग्गा सम्बन्धि विषयमा छलफल हुने क्रममा दुवै पक्षको मानवीय कमजोरीका कारण उत्पन्न भएको सामान्य घटनालाई अतिरञ्जित गरी भिडियो क्लिप्स सहित सामाजिक सञ्जालमा ल्याउनु खेदजनक छ ।’
यस्ता प्रवृतिले सेवा प्रवाहमा असर पर्न सक्ने भएकाले सामान्य घटनाको रुपमा लिएर वडाबाट प्रवाह हुने सेवालाई सहज बनाउन नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाले जग्गाको सिफारिस लिन गएको भनेपनि स्वयं वडाध्यक्ष श्रेष्ठ र सेवाग्राही खनालले हकवालाको सिफारिस लिन गएको बताएका छन् ।
बिहीबार विहान ११ बजेपछि वडाध्यक्ष र सेवाग्राहीबीच हात हालाहालको स्थिति आएको थियो । वडाध्यक्ष र सेवाग्राहीबीच घम्साघम्सी भएको ४० सेकेण्डको भिडियोमा सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । घटना वडा कार्यालयबाट नजिकै दुर्गाटोलमा भएको हो ।