निषेधाज्ञामा के गर्न पाइन्छ ? के पाइँदैन ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निषेधाज्ञामा के गर्न पाइन्छ ? के पाइँदैन ?

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०७८, मंगलवार

    तनहुँ : कोभिड सङ्कट व्यवस्थापन केन्द्र तनहुँले बुधबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । ऋषिङ गाउँपालिका–२, ३, ४, ५, ६, ७ र ८ तथा घिरिङ गाउँपालिकाका सम्पूर्ण वडाहरु बाहेक अन्य क्षेत्रमा लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

    निषेधाज्ञा आदेश पालना गर्न गराउन सबै व्यक्ति, सङ्घसंस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकमा जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ । आदेशको उल्लङ्घन भएमा सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने प्रशासनले जारी गरेको आदेशमा जनाइएको छ ।

    के गर्न पाइन्छ ?

    निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाहरु एम्बुलेन्स, ग्यास, पेट्रोलियम पदार्थ, खानेपानी, औषधी तथा उपचार सामग्री, स्वास्थ्य संस्था, अस्पताल, दुरसञ्चार, फोहरमैला व्यवस्थापन, बैङ्कको एटिएम सेवा, डाँक सेवा र सार्वजनिक निर्माण सम्बन्धी कार्य सञ्चालन गर्न पाइन्छ । त्यस्तै खाद्यान्न, तरकारी, फलफूल, दूध र दूधजन्य पदार्थको उत्पादन र विक्री वितरण बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म पाइनेछ । निर्माण सामग्री पसल र सार्वजकि निर्माणका लागि ढुवानी गर्ने साधन दिउँसो ११ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

    त्यस्तै माथि उल्लेखित भएका बाहेक अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने, बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य सहभागी हुनुपर्ने अवस्था) का लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति लिनुपर्नेछ । सञ्चारकर्मीको हकमा सूचना विभाग वा सम्बन्धित सञ्चारगृहले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न पाइनेछ ।

    के पाइँदैन ?

    सिनेमा हल, पार्टी प्यालेस, डान्स बारे, नाचघर, हेल्थ क्लव, जिम खाना, स्वीमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शक सहितको खेलकुद, तालिम, सेमिनार, भौतिक उपस्थितिमा गरिने शिक्षण प्रशिक्षण र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम गर्न पाइँदैन ।

    कार्यालय सञ्चालन सम्बन्धमा ?

    अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका कार्यालयहरुले सेवा प्रवाह बन्द गरी आन्तरिक कार्य मात्र गराउने, सरकारी कार्यालय र अन्य सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरुको सवारी साधनको हकमा परिचयपत्रको आधारमा आन्तरिक आवतजावत गर्न दिइने, जिल्लाभित्र र जिल्ला बाहिर चल्ने निजी र सार्वजनिक सवारी साधनहरु सवारी पास बेगर सञ्चालन गर्न नपाइने, बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवा शाखा प्रबन्धकले स्वास्थ्य तथा सुरक्षाका सबै मापदण्ड पूरा गराई न्यूनतम कर्मचारीको उपस्थितिमा सञ्चालन गर्ने ।

    Scan2021-05-04_193127