दमाैली : तनहुँको व्यास नगरपालिकामा औषधीजन्य पसल बाहेक अन्य सबै क्षेत्र बन्द गरिने भएको छ । नगरक्षेत्रभित्र सङ्क्रमणको दर दिनप्रतिदिन बढ्दै गएकाले केही समयका लागि सबै क्षेत्र बन्द गर्ने तयारी गरिएको हो ।
आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले औषधीजन्य व्यवसाय बाहेकका सम्पूर्ण व्यवसाय केही समयका लागि पूर्ण रुपमा बन्द गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
कोभिडका बिरामीहरुको मृत्यु हुने क्रम बढेकाले जात, धर्म, संस्कार अनुसार मृतकहरुको व्यवस्थापन गर्न सङ्कट व्यवस्थापन केन्द्रको सहयोग लिई स्थानीय टोल संस्थासँग समेत सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
व्यास नगरपालिका क्षेत्र भित्रका कतिपय रुघा, खोकी तथा ज्वरोका बिरामीहरुले पिसिआरको दायरामा आउन आनाकानी गरेको भन्ने गुनासो आएकाले सम्पूर्ण टोल विकास संस्थालाई परिचालन गर्ने निर्णय भएको छ । नगरपालिकाले आफ्नो टोल छिमेकमा त्यस्ता प्रकृतिका बिरामी देखिएमा तुरुन्त स्वास्थ्य शाखामा सम्पर्क गरी पिसिआर परीक्षण गर्न गराउन सम्बन्धित वडा अध्यक्षले आवश्यक समन्वय तथा सहयोग गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले नगरपालिका अन्तरगतका सम्पूर्ण सामुदायिक तथा निजी शैक्षिक संस्थाहरुको पढाई, परीक्षा, ट्यूसन कक्षा अर्को व्यवस्था नहुदाँसम्म बन्द गर्ने, व्यास–१२ का घरमा बस्ने वातावरण नभएका सङ्क्रमितहरु लाई छिर्कनेस्थित वन कार्यालय भवनलाई उपयोग गर्ने कार्यका लागि डिभिजन वन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले मूल कार्यालय र वडा कार्यालयहरुद्वारा प्रवाह हुँदै आएका नियमित सरसफाई, वारुण यन्त्र र स्वास्थ्य सम्बन्धी सेवाहरु बाहेकका अन्य सम्पूर्ण सेवा जेठ १० गतेसम्म बन्द गरेको छ ।