पोखरा : सहकारी अध्यक्ष तथा सञ्चालकको छाता तथा खुल्ला संस्था कोअपरेटिभप्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर ) को भर्चुअल रुपमा आयोजित भेलाले कोभिड महामारीसँग लड्न एवं रोकथाम गर्नका लागि कोभिड उद्धार कोष स्थापना गर्ने निर्णय गरेको छ।
प्रारम्भमा यस कोषको राशी १५लाख हुनेछ। कोषमा सहकारीका प्रत्येक सदस्यहरुले न्युनतम पॉच रुपैयॉ, सञ्चालकहरुले रु एक सय र संस्थाहरुले रु एक हजार मुठ्ठीदानको रुपमा सहयोग गर्न अनुरोध गरिएको छ ।
यस कोषलाइ देशव्यापी बनाइने महासचिव रामचन्द्र शर्माले बताउनुभयो । उहॉका अनुसार सहकारी सङ्घसंस्थाहरुसँग समन्वय गरेर कोषको संस्थागत विकास गर्दै अक्सिजन बैंक स्थापना गर्ने, सहकारी सदस्यहरुको आपतकालीन उद्धार गर्ने र खोप आयात गर्नका लागि समेत विशेष रणनीति अख्तियारी गर्ने निर्णय भएको छ।
कोभिड उद्धार कोष स्थापना र परिचालनका लागि कोप्स जोन कास्कीका गभर्नर धर्मराज अर्याल अर्यालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ। समितिलाइ मार्गदर्शन गर्नका लागि संरक्षकमा कोप्सका अध्यक्ष डिल्लीराम बराल, गाइडलाइनरमा महासचिब रामचन्द्र शर्मा र कन्सलट्यान्टको रुपमा संचार सहकारीका अध्यक्ष बिनोद ढुंगाना रहनुभएको छ। यस समितिलाई दिर्घकालिन उद्धार कोषको रुपमा अगाडी बढाउन सकिने समितिका अध्यक्ष धर्म अर्यालले बताउनुभयो ।
कोप्सका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा बसेको बैठकले कोभिड महामारीको अवस्थामा सहकारी क्षेत्र र सदस्यहरुमा परेको प्रभावको उद्धार सम्बन्धि रणनीतिक सम्मेलनले कोभिडसँग लड्न अन्य ६ वटा निर्णयहरु समेत गरेको छ ।
कठिन अवस्थामा समेत अनुकुलता खोज्दै सचेतनापूर्वक सहकारी सदस्यहरुलाई नियमित सेवा दिने बातावरण बनाउने, सहकारीहरूले अनिवार्य रुपमा आफ्ना सदस्यहरुसँग निरन्तर भर्चुअल भेलाहरु गर्ने, सदस्यहरुलाई आर्थिक सुरक्षाको महशुस गराउने र कोभिडको समयमा ब्याजदर कम्तिमा पनि २ बिन्दु प्रतिशत वा सदस्यको बचतमा दिने आधारदर कायम हुने गरि राहात दिने र अप्ठ्यारोमा संस्था अभिभावक हो भन्ने महशुस सदस्यलाई गराउने, कोभिड संक्रमित सदस्यका उपचारका लागि रु १ लाखसम्म ६ महिनाको लागि विना ब्याज उपलब्ध गराउने, कर्मचारीहरुका लागि खोप अभियान, स्वास्थ्य बीमा र स्वास्थ्य सुरक्षाका लागि सामग्री व्यवस्थापन अभियान चलाउने, सदस्यहरुका व्यापार ब्यवसाय कोभिड पछाडी दिर्घकालिन रुपमा पुनर्स्थापित गर्न “बिजनेश रिकभरी प्लान” दिने, कोभिड रोकथाम र सचेतनाका विषयमा सदस्यहरुलाइ बुझ्ने बनाउन बिज्ञ डाक्टर सहित वेबिनार अनलाइन अन्तरक्रिया गराउने र कोभिड अवधिभरि साप्ताहिक छलफल चलाउने निर्णय गरेको संस्थाले जनाएको छ।