दुलेगाैडा : शुक्लागण्डकी नगरपालिका–४ ले अग्नि नियन्त्रक यन्त्र बाँडेको छ । वडा कार्यालयले यहाँका टोल विकास संस्था र सामाजिक सङ्घसंस्थालाई ९० वटा अग्नि नियन्त्रक यन्त्र बाँडेको हो । वडामा १६ टोल छन् । सबै टोललाई ५÷५ वटाका दरले उपलब्ध गराईएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडामा रहेका विद्यालय, खानेपानी संस्था, स्वास्थ्यचौकी लगायतका सामाजिक सङ्घसंस्थालाई पनि अग्नि नियन्त्रक यन्त्र उपलब्ध गराइएको छ । शहरी क्षेत्रमा आगलागीको जोखिम बढी भएकाले यन्त्र वितरण गरेको उहाँले बताउनुभयो । “आगलागीका जोखिम बढेको छ । सडक साँघुरो भएकाले कतिपय गल्लीमा आगलागी हुँदा दमकल पनि नछिर्ने अवस्थाका छन् । त्यसैले आगलागी भईहाले निभाउन सजिलो होस् भनेर टोल विकासलाई अग्नि नियन्त्रक यन्त्र दिएका हौँ,” उहाँले भन्नुभयो । आगलागीका घटनाबाट ठूलो क्षति हुन नदिन यन्त्र प्रभावकारी हुने वडाध्यक्ष श्रेष्ठको भनाई छ ।
वडाले अग्नि नियन्त्रक यन्त्र खरिदका लागि चालु आर्थिक वर्षको बजेटमा तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । सोही रकमले खरिद गरी वितरण गरेको वडा सचिव कल्पना गैरे सुवेदीले बताउनुभयो । उहाँका अनुसार एउटा अग्नि नियन्त्रक यन्त्रलाई झन्डै तीन हजार ८ सय रुपैयाँ परेको छ ।