‘डेल्टा भेरियन्टविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप निकै कम प्रभावकारी’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    ‘डेल्टा भेरियन्टविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप निकै कम प्रभावकारी’

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७८, बुधबार

    एजेन्सी : अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनले विकास गरेको कोरोना खोप (जान्सेन) निकै संक्रामक मानिएको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी देखिएको छ ।

    मंगलबार सार्वजनिक गरिएको अध्ययनको एउटा रिपोर्टअनुसार जान्सेन खोप डेल्टा भेरियन्टविरुद्ध केवल ३३ प्रतिशत प्रभावकारी रहेको पाइएको हो । अध्ययनको क्रममा दुई डोज दिनुपर्ने खोप लगाएका मानिसहरुमा जोन्सेन खोपको तुलनामा एन्टिबडीको मात्रा पनि दोब्बरभन्दा बढी देखिएको थियो ।

    शोधकर्ताहरुले यो अध्ययन अनुसार जान्सेनको खोप लगाएका मानिसहरुलाई अर्कै खोपको थप एक डोज आवश्यक हुन सक्ने बताएका छन् । अमेरिकामा अहिलेसम्म एक करोड ३० लाखभन्दा धेरै अमेरिकी नागरिकहरुले जान्सेन खोप लगाएका छन् ।

    पछिल्लो समय अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण फैलिरहेको समयमा यस्तो रिपोर्ट सार्वजनिक भएको हो। बुधबार अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारीअनुसार अमेरिकामा भेटिएका नयाँ संक्रमितमध्ये ८३ प्रतिशतमा डेल्टा भेरियन्ट देखिएको छ । साथै यो भेरियन्टले अमेरिकाको करीब सबैजसो राज्यमा संक्रमण बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइएको छ ।

    न्युयोर्क टाइम्ससँगको कुराकानीमा यो अध्ययनको नेतृत्व गरिरहेका डाक्टर नाथानेइल लान्डाउले भने, ‘हामी जान्सेन खोप मानिसलाहरुलाई लगाउनै हुँदैन भन्ने सन्देश दिन चाहँदैनौं । तर भविष्यमा जान्सेन खोप लगाएका मानिसहरुलाई जान्सेन वा फाइजर वा मोडेर्नाको अर्को डोज पनि आवश्यक पर्न सक्छ भन्ने हामीलाई लागेको छ ।’

    यो अध्ययनका लागि २७ जना कोरोना संक्रमितको रगतको नमुनाको अध्ययन गरिएको थियो । उनीहरुमध्ये १७ जनाले फाइजर वा मोडेर्नाको दुवै डोज खोप लिएका थिए भने १० जना मानिसले एक डोज जान्सेन खोप लगाएका थिए ।

    अध्ययनको क्रममा जान्सेनको खोप लगाएका मानिसमा डेल्टा भेरियन्टले आक्रमण गर्दा एन्टिबडीको स्तर पाँचदेखि सात गुणासम्म घट्ने गरेको पाइएको थियो । फाइजर र मोडेर्नाको खोप लगाएका मानिसमा यो भेरियन्टले आक्रमण गर्दा एन्टिबडीको स्तर तीनगुणाले घटेको पाइएको थियो ।

    यसअघि अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोपको एक डोज डेल्टा भेरियन्टविरुद्ध ३३ प्रतिशत प्रभावकारी रहेको पाइएको थियो ।