दमाैली : वैकल्पिक ठाउँको व्यवस्थापन भएपछि विगत एक सातादेखि तनहुँ सदरमुकाममा थुप्रिएका फोहर बुधबारबाट उठाउन शुरु गरिएको छ । व्यास नगरपालिकाले बजार क्षेत्रका चोक–चोकमा थुप्रिएका फोहर उठाउन शुरु गरेको हो ।
व्यास नगरपालिका–१३ स्थित कोइदिम जाने बाटो नजिकको खोल्सामा फोहर फाल्न ठाउँको टुङ्गो लागेकाले फोहर उठाउन थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । व्यास नगरपालिका–१ चारकुनेस्थित रामदेव पन्थको जग्गामा फोहर फाल्ने गरिएकामा उक्त ठाउँ भरिएपछि विगत एक सातादेखि दमौलीमा फोहर उठ्न सकेको थिएन ।
बेलबासबाट कोइदिम जाने बाटो नजिकको खोल्सीमा फोहोर व्यवस्थापन गर्ने गरी सम्झौता भएकाले अब डेढ वर्षका लागि समस्या समाधान भएको छ । बेलबासको खोल्सीले कम्तीमा डेढ वर्षका लागि पुग्ने नगरपालिकाको अनुमान छ । त्यो बेलासम्म अहिलेका जनप्रतिनिधिहरुको कार्यकाल सकिने हुँदा अहिलेका अधिकांश जनप्रतिनिधिहरु ढुक्क बनेका छन् । तर पनि ल्याण्डफिल्ड साईडको दीर्घकालिन व्यवस्थापन गर्नुपर्नेमा जनप्रतिनिधि एकमत छन् ।
बेलबासमा फोहोर व्यवस्थापन कार्यमा पछि स्थानीयवासीबाट अवरोध नआओस्
भनेर नगरपालिकाले स्थानीय अगुवा र कोइदिम सामुदायिक वन समितिका पदाधिकारीहरुसँग पनि छलफल गरिसकेको छ । फोहोर व्यवस्थापन गर्न दिए बापत नगरपालिकाले बेलबासबाट बेनीकोट जाने सडक कालोपत्रे गर्ने गरि यसै वर्ष रु ३० लाख विनियोजन गर्ने सहमति भएको छ ।
त्यसबाहेक ठाउँ–ठाउँमा रिटेनिङ वाल र प्रतिक्षालय निर्माण गर्ने सहमति भएको छ। उक्त स्थानमा फोहर व्यवस्थापनका लागि दमौली बजारमा सङ्कलित फोहर आदिकवि भानुभक्त क्याम्पसको पछाडीको जग्गामा खन्याउने र त्यहाँबाट कुहिने फोहोर गाई संरक्षण केन्द्रमा लैजाने तथा नकुहिने फोहोर बेलबास तर्फ लैजाने सहमति भएको सिग्देलले बताए ।
फोहरमैलाको समस्याको दीर्घकालिन समाधानका लागि नगरपालिकाले तीन स्थानमा आइइ गरिसकेको छ । व्यास नगरपालिका वडा नम्बर ४ को बाघभन्ज्याङ, वडा नम्बर १० र वडा नम्बर १ कोे भद्रुमा आइइ गरेर उपयुक्त स्थान हेरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यस अगाडी फोहर बिसर्जन गर्दै आएको व्यास नगरपालिका–३ भतेरी गत वर्ष मादी नदीले कटान गरिदिएपछि चारकुनेका रामदेव पन्थको जग्गा भाडामा लिएर त्यहाँ नकुहिने फोहर बिसर्जन गर्न थालेको थियो । नगरपालिकाले कुहिने फोहर भने व्यास नगरपालिका–१० मा मल उत्पादनमा प्रयोग गर्ने गरेको छ ।
व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको छ । बजार क्षेत्रमा फोहर उठ्न नसक्दा दुर्गन्धित हुन थालेकाले नगरपालिकाले यसको दीर्घकालिन समाधानको बाटो खोज्नुपर्ने स्थानीयवासीको माग छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।