दमौली अस्पतालका चिकित्सकले लामाे समयदेखि तलब भत्ता पाएनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालका चिकित्सकले लामाे समयदेखि तलब भत्ता पाएनन्

    खबरपुञ्ज संवाददाता

    २० माघ २०७८, शुक्रबार

    दमाैली । सदरमुकामस्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकले विगत लामाे समयदेखि तलबभत्तापाएका छैनन् । अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्राेत्साहन भत्ता र गत असाेजदेखि तलब नपाएका हुन् ।

    अस्पतालमा कार्यरत डा. आस्था रेग्मी, डा. राजु राना मगर, डा. दिवस ढकाल, डा. सुनयन सुवेदी, डा. सिन्चन पाण्डे, डा. पुजा सैजु, डा. प्रशन्न कार्की, डा. अभिनन्दन तिवारी, डा. सञ्जिव भण्डारी, डा. कृष्ण गिरी र डा. सुशील विकले १८ महिनादेखि तलबभत्ता पाउन नसकेका हुन् ।

    कोभिड महामारीमा ज्यान जोखिममा राखी गरेको कामको लागि सरकारले जोखिमभत्ता दिने निर्णय गरेपनि अस्पतालमा कार्यरत चिकित्सकले भने भत्ता नपाएको गुनासो गरेका छन् । काम बापत निरन्तर पाउनुपर्ने तलबभत्ताको लागि बारम्बार ताकेता गर्दापनि अस्पताल विकास समितिबाट मौखिक आश्वासन दिने काम बाहेक अन्य केही हुन नसकेको उनीहरुकाे भनाई छ । विगत लामो समयदेखि तलबभत्ता बिना काम गरिरहँदा पनि मा सुनुवाई नभएकाले चिकित्सक हतोत्साही भएको चिकित्सकले बताएका छन् ।

    तलबभत्ता निकासाका लागि पहल गरिदिन माग गर्दै अस्पतालमा कार्यरत करार चिकित्सकले आज प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । तलबभत्ता उपलब्ध नभएमा दैनिक कामकाज गर्न असमर्थ हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । “अस्पतालका प्रमुखलाई माघ १६ गते नै निवेदन दिइसकेका छौ, एक हप्ताको समय बितिसक्दा पनि केही उपलब्धी नहुँदा हामी अस्पतालका चिकित्सक माघ २३ गते आइतबारदेखि दैनिक कामकाजबाट पछि हट्न बाध्य भएका छौ,” ज्ञापनपत्रमा भनिएको छ, “यसबाट सेवाग्राहीलाई हुन जाने असहजताका लागि क्षमाप्रार्थी छौ ।”

    प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रको बोधार्थ आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन र राष्ट्रिय कर्मचारी सङ्गठन तनहुँलाई दिइएको छ ।

    दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेलले अस्पतालमा कार्यरत चिकित्सकलाई तलबभत्ता प्रदान गर्न पहल भइरहेको बताए । “बजेट निकासा नभएका कारण यो समस्या आएको हो, यसबारेमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराइसकेका छौ,” उनले भने । उनले अस्पतालमा कार्यरत दुई जना विशेषज्ञ डाक्टरको तलब अर्थ मन्त्रालयले निकासा गरेपनि करारमा कार्यरत चिकित्सकको हकमा भने बजेट निकासा नगरिदिँदा समस्या भएको जानकारी दिए ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।