दमाैली । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीस्थलको निरीक्षण गरेका छन् । नेकपा एमालेका स्थायी कमिटीका सदस्य गुरुङले सोमबार आगलागीस्थलको निरीक्षण गरेका हुन् ।
सोक्रममा गुरुङले भूपाल हार्डवेयरका सञ्चालक भूपाल आले, ज्योति जनरल सप्लायर्सका सञ्चालक रमेशकुमार श्रेष्ठ लगायत पीडितलाई भेट गरी सहानुभूति प्रकट गरेका थिए । दुःखको अवस्थामा नेकपा एमाले सदैव जनताको साथमा रहेको भन्दै उहाँले पीडितलाई उचित क्षतिपूर्ति दिनका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।
सोक्रममा नेकपा एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने, जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, सचिव राजेश्वर ढकाल, उपसचिव प्रदीपराज अधिकारी, सदस्य अनिल पाण्डे, प्रदेश सांसद रामबहादुर गुरुङ लगायतको सहभागिता थियो ।