दुलेगाैडा । तनहुँमा स्वतन्त्रबाट उम्मेद्वारी दिएका चार जना वडाध्यक्ष निर्वाचित भएका छन् । जिल्लाका १० स्थानीय तहको ८५ वडामा चार जना स्वतन्त्र वडाध्यक्ष निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका सुचना अधिकारी दुर्गा आलेले जानकारी दिईन् । उनका अनुसार दुई जना भानु नगरपालिका र दुई जना ऋषिङ गाउँपालिकाको वडाध्यक्षमा निर्वाचित भएका छन् ।
तीन जना नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेद्वारी दिएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । एक जना नेपाली कांग्रेसबाट कारबाहीमा परेका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहबाट स्वतन्त्र उम्मेद्वारी दिएर नेकपा एमालेको समर्थनमा निर्वाचित भएका हुन् ।
भानु नगरपालिका–१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी भएका छन् । उनले ५२१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका रामबहादुर बानियाँले ४६५ र स्वतन्त्र उम्मेदवार सीताराम बानियाँले २१० मत प्राप्त प्राप्त गरेका छन् ।
वडाध्यक्षमा विजयी स्वतन्त्र उम्मेद्वार अधिकारी नेपाली कांग्रेसको वडा कार्य समितिका सभापति थिए । वडाध्यक्षमा आकांक्षी उनलाई पार्टीले पत्याएन र टिकट दिएन् । पार्टीले टिकट नदिएपछि बागी उम्मेद्वारी दिएका उनलाई वडाका जनताले भने पत्याएका छन् ।
भानु नगरपालिका–११ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार विमलराज जोशी निर्वाचित भएका छन् । उनी नेकपा एमाले र जोशी समूहको समर्थनमा चुनाव लडेपनि स्वतन्त्र चुनाव चिह्न लिएका थिए । जोशीले एक हजार ६३ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका रविन भुजेलले नौ सय १६ मत प्राप्त गरे । जिल्लामा एक मात्र स्वतन्त्र वडा सदस्य पनि यही वडामा निर्वाचित भएकी छन् । एमाले जोशी समुहको समर्थन पाएकी लालमती गुरुङले महिला सदस्यमा ९९२ मत ल्याएर विजयी भएकी छन् ।
ऋषिङ गाउँपालिका– ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दुर्गाबहादुर थापा विजयी हुनुभएको छ । उनले कांग्रेसबाट वागी उम्मेद्वारी दिएर जित हासिल गरेका हुन् । थापा ४९५ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुदाँ उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका यामबहादुर थापाले २८९ मत प्राप्त गरेका छन् ।
यस्तै, ऋषिङ– ८ मा पनि वागी उम्मेद्वारी दिएका भरतकृष्ण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ३९७ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । प्रतिस्पर्धी नेकपा एमालेका रितबहादुर थापा मगरले ३८० र नेपाली कांग्रेसका दानबहादुर श्रेष्ठले ३२७ मत प्राप्त गरे ।
जिल्लामा नेपाली कांग्रेसको ४६, नेकपा एमालेका २८, माओवादी केन्द्रका सात र स्वतन्त्र चार वडाध्यक्ष विजयी भएका छन् ।