पृथ्वी राजमार्ग भासिएको घटना : यस्ता एक भाग्यमानी जो बाइक खस्दा पनि सेकेन्डभरले बाँचे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पृथ्वी राजमार्ग भासिएको घटना : यस्ता एक भाग्यमानी जो बाइक खस्दा पनि सेकेन्डभरले बाँचे

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०७९, शुक्रबार

    ऑबुखैरेनी । भाग्यभन्दा कर्ममा विश्वास गर्नुपर्छ भन्ने आममान्यता छ ।तर, मानिसको जीवनमा कतिपय यस्ता क्षण आउँछन्, जसले भाग्य कति ठूलो कुरा हो भन्ने प्रमाणित गर्छन् ।

    कतिपय मान्छेलाई बाँच्न १ सेकेन्ड काफी हुन्छ भने कतिपयले सेकेन्डभरमा ज्यान गुमाउन पुग्छन् ।शुक्रवार पृथ्वी राजमार्गस्थित मुग्लिन–आँबुखैरेनी सडक खण्डमा मानिसको भाग्य र दुर्भाग्यका दुवै उदाहरण देखिए ।सडक भासिँदा त्यसमा परेर मृत्यु भएका २ जनाको शव भेटिएको छ भने केही व्यक्ति दुर्घटनाबाट सेकेन्डभरले बाँचेका छन् ।

    उक्त दुर्घटनामा सेकेन्डभरले बाँच्ने भाग्यमानी व्यक्ति हुन्, धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारका सन्दीप घिमिरे ।घिमिरे बिहीवार बेलुका मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउसनजिकै रहेको आफन्तको घरमा गएका थिए ।

    उनी जाँदा बेलुकाको १० बजेको थियो ।उनले त्यहीँ रात बिताए । बिहान झिसमिसेमै धादिङस्थित घरतर्फ प्रस्थान गरे ।बाइकमा उनले हजुरआमा र सानी एउटी नानीलाई राखेका थिए । उनका अनुसार हुस्सु लागेकाले परसम्म देख्न सकिने अवस्था थिएन ।सन्दीप आफ्नै गतिमा अगाडि बढिरहेका थिए ।

    बिहान करीब पौने ५ बजे घटनास्थलमा आइपुग्दा एउटा बाइक रंग साइडबाट हुत्तिँदै आयो । त्यसलाई छल्न उनले तीव्र गतिमा रहेको आफ्नो बाइकमा इमर्जेन्सी ब्रेक हाने । बाइकमा रहेका तीनैजना उछिट्टिएर सडकको किनारामा पुगे । ढिस्कोमा पर्दा ठूलो चोट लाग्न पाएन । उठेर हेर्दा उनको होशहवास उड्यो ।बाइक त परको कुरा, अगाडि सडक समेत थिएन ।

    सडक हुनुपर्ने ठाउँमा तल पानी बगिरहेको देखियो ।‘एक्कासि एकजना रंग साइडबाट आयो । छल्न खोज्दा हामी दुर्घटनामा पर्‍यौं । उठेर हेर्दा त सडक हुनुपर्ने ठाउँमा तल पानी बगिरहेको थियो,’ सन्दीपले भने, ‘हामी ढिस्कोमा अड्किएर भाग्यले बाँच्यौं, तल झरेको भए लास पनि भेटिँदैनथ्यो ।’त्यही भासिएको सडक देखेर ती व्यक्ति र‌ङ्ग साइडबाट आएका रहेछन्, जुन सन्दीप, उनको हजुरआामा र सानी नानीका लागि भाग्य सावित भयो ।

    सन्दीपको बा ३३ प १०८१ नम्बरको बाइक कहाँ पुग्यो पत्तो छैन । तर ठूलो दुर्घटनाबाट बाँचेकोमा खुशी छन् । उनलाई अहिले पनि त्यो क्षण सपनाजस्तो लागिरहेको छ ।उनीहरू उठेका मात्र थिए, एकजना ट्रक ड्राइभर आइपुगे ।‘एकैछिनअघि मेरै आँखाअगाडि कार र बाइक तल झर्‍यो भनेर रुँदै थिए, उनी ट्रक ड्राइभर रहेछन्,’ सन्दीपले त्यहाँको वस्तुस्थिति सुनाए ।उनीहरू दुर्घटनामा परेको ५ मिनेटपछि प्रहरी आइपुग्यो ।

    ‘प्रहरीहरू ५ मिनेटपछि आएका थिए, सम्भवतः त्यही ट्रक ड्राइभरले खबर गरेको हुनुपर्छ,’ उनले भने ।दुर्घटनास्थलबाट प्रहरीले २ जनाको शव निकालेको छ । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमाण्डमा गएको गोताखोरसहितको टोलीले ग १५ प २९५३ नम्बरको मोटरसाइकल फेला पारेको थियो । (स्रोत : लोकान्तर)