भासिएको सडकबाट एकतर्फी सबै सवारी सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    भासिएको सडकबाट एकतर्फी सबै सवारी सञ्चालन

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०७९, शनिबार

    दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ । सडक भासिएको ठाउँको कुनापट्टि भित्ता खन्ने काम जारी रहँदा शनिबारदेखि सबै खाले सवारी सञ्चालन गरिएको हो ।

    उक्त खण्डमा एकतर्फीरूपमा सवारी सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । रातिको समयमा जोखिम हुने भएकाले शुक्रबार राति ७ बजेदेखि आज बिहान ६ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो ।

    “साना तथा ठूला सबै गाडी चलेका छन्, काम हुँदै गर्दा केही समय रोकेर सवारी पठाउने गरिएकाले केही समय जाम हुने गरेको छ”, उनले भने । सवारीसाधनको चाप रहेको र एकतर्फी सवारी सञ्चालन हुँदा पृथ्वीराजमार्गको आँबुखैरेनी–डुम्रे खण्डमा सवारीको जाम हुने गरेको छ ।

    केही दिनदेखि परेको निरन्तर वर्षाका कारण पृथ्वीराजमार्गको तनहुँ खण्डका विभिन्न ठाउँमा सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा सर्वसाधारणले कष्टकर यात्रा गर्र्नुपरेको छ । मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा सडक खन्दा विभिन्न ठाउँमा सडक हिलाम्मे भएपछि सवारी फस्ने गरेका छन् ।

    तनहुँ खण्डका आँबुखैरेनी, डुम्रे, छिर्कने, घाँसीकुवा, म्याग्दे, दुलेगौडालगायतका ठाउँमा सडक बिग्रिएर खाल्डाखुल्डी हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या हुने गरेको छ । बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा बस र व्यास नगरपालिका–१२ मा शनिबार दिउँसो ट्रक फसेका कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो ।