राष्ट्रिय स्वतन्त्र पार्टीको तनहुँ भेलामा श्रेष्ठले भने – हामी बोल्दैनौ, काम गरेर देखाउँछौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय स्वतन्त्र पार्टीको तनहुँ भेलामा श्रेष्ठले भने – हामी बोल्दैनौ, काम गरेर देखाउँछौ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सभापति डा. ढाकाकुमार श्रेष्ठले आफूहरुले बोल्ने भन्दा काम गरेर देखाउने बताएका छन् । उक्त पार्टीको शुक्रबार आयोजित तनहुँ जिल्ला भेलालाई सम्बोधन गर्दै श्रेष्ठले आफूहरु भाषणमा भन्दा काममा विश्वास गर्ने उल्लेख गरे ।

    ‘हामी बोल्दैनौ काम गर्छौ, हामी नेता होइनौ, बोल्न आउँदैन काम गरेर देखाउँछौ,’ उनले भने, ‘हामीले बोलेको प्रतिबद्धता पूरा गर्न नसके हामीलाई दमौलीको चोकमा कालोमोसो दलिदिनुस् ।’

    उनले देशको स्थितिका कारण चिकित्सक भएर राजनीतिमा आउन बाध्य भएको जिकिर गरे । ‘देशको स्थिति टुलुटुलु हेरेर बस्न सकेनौ, चिकित्सक पेशा छाडेर राजनीतिमा होमिएँ, जनताको अवस्था परिवर्तन गराउनु हाम्रो मुल लक्ष्य हो,’ उनले भने ।

    श्रेष्ठले पार्टीमा टिके प्रथाको अन्त्य गर्ने दावी गरे । ‘जो सक्षम छ उसले पार्टी चलाउने हो,’ उनले भने । राजनीतिलाई पेशा बनाउन नहुने भन्दै उनले राजनीतिलाई पेशा बनाउने भ्रष्ट हुने आरोप लगाए ।

    श्रेष्ठले गण्डकी प्रदेशमा आफूहरुको पार्टीको सरकार बने स्वास्थ्य निशुल्क गर्ने घोषणा गरे । ‘गण्डकी प्रदेशमा स्वास्थ्यको जिम्मा हामी लिन्छौ, कसैले पनि पैसा नभएर उपचारबाट वन्चित हुनुपर्दैन,’ उनले भने ।

    कार्यक्रममा उक्त पार्टीका कास्की अध्यक्ष विष्णु गुरुङले देशमा अब नेतृत्व परिवर्तन आवश्यक रहेको र त्यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने जिकिर गरिन् । ‘अहिलेका नेताहरुले रवि लामिेछानेलाई राजनीतिमा आउन बाध्य बनाए,’ उनले भने ।

    कार्यक्रममै तनहुँका सूर्यमणि पौडेलले अहिलेका नेताहरुबाट परिवर्तन सम्भव नरहेको भन्दै रवि लामिछानेको पार्टीले केही गर्छ भन्ने विश्वास रहेको बताए । ‘कसै न कसैबाट त आशा राख्नुपर्यो, व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन भएन,’ उनले भने ।