डेङ्गु नियन्त्रणका लागि व्यासमा ‘खोज र नष्ट गर अभियान’ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डेङ्गु नियन्त्रणका लागि व्यासमा ‘खोज र नष्ट गर अभियान’ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७९, शनिबार

    दमाैली । डेङ्गु सङ्क्रमण बढ्न थालेपछि तनहुँमा नियन्त्रण र रोकथामका लागि स्थानीय तह कस्सिएका छन् । डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् ।

    सदरमुकामस्थित व्यास नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि शनिबारदेखि ‘खोज र नष्ट गर’ अभियान सुरुवात गरेको छ । कोभिड–१९ को सङ्क्रमणपछि अहिले पुनः डेङ्गुको जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । “कोभिड सङ्क्रमण विस्तारै अन्त्य हुने क्रममा छ, फेरि डेङ्गुले दुःख दिन थाल्यो,” न्यौपानेले भन्, “हरेक विपद् समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध छ ।”

    डेङ्गु नियन्त्रणका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरु खोजी गरेर नष्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । “लामखुट्टेले फूल पार्न सक्ने सम्भावित स्थानहरु जस्तै पानी जमेको ठाउँ, टायरमा जमेको पानीलाई नष्ट गर्ने अभियान सुरुवात गरेका छौ,” उनले भने “प्रत्येक वडामा पनि जनप्रतिनिधिको नेतृत्वमा यो अभियान सुरु भएको छ ।”

    ‘सबै जागौ, सबै लागौ ः वरिपरि जमेको पानी हटाई डेङ्गु भगाऔ’ नाराका साथ सुरु अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सङ्घसंस्था, शिक्षकलाई परिचालन गरिने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी दिइन् । व्यास नगरपालिकाले शनिबार मोटरसाइकल वर्कसपमा राखिएका टायरमा जम्मा भएको पानी फालेको छ ।