पदभार ग्रहण गर्दै चुमानले भने – संघीयता र रणनीतिक योजनाको कार्यन्वयनमा लाग्नुस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पदभार ग्रहण गर्दै चुमानले भने – संघीयता र रणनीतिक योजनाको कार्यन्वयनमा लाग्नुस्

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७९, बुधबार

    पोखरा । गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकास तथा यातायात व्यवस्थामन्त्री हरि बहादुर चुमानले पदभार ग्रहण गरेका छन् । सो क्रममा उनले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त संघीयताको विकासमा लाग्न सबैखालका प्रयासमा साथ दिन आग्रह गरेका छन् ।

    अहिलेको कार्यभार भनेको संघीयताको पूर्ण कार्यान्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्न उनले कर्मचारीलाई र्निदेशन दिए । योजनाको वर्गीकरण गरी संघ प्रदेश र स्थानीय तहको कार्यविभाजन बिना परिणाम नआउने भएकाले योजना वर्गीकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उनले सो अवसरमा उल्लेख गरे ।

    टुक्रे र परिणामविहिन योजनाले गण्डकी प्रदेशको विकास सम्भव नहुने भएकाले दीर्घकालिन रुपमा रणनितिक योजनामा प्रदेशले काम थाल्ने उनको भनाई थियो । अहिलेको आधुनिक युगमा सेवाग्राहीलाई सोफामा राखेर सेवा दिन पर्ने बेला आएको चुमानले बताए । लामो लाईन बसेर सरकारबाट पाउने सेवा लिन पर्ने अवस्था अन्त्यका लागि काम गर्न उनले कर्मचारीलाई र्निदेशन दिए ।

    पदभार ग्रहण गर्दे मन्त्री चुमानले गण्डकी प्रदेशमा विद्युतीय सवारी सञ्चालन सम्बन्धी मापदण्ड तयार गरि लागु गर्ने निर्णय गरेका छन् । हालसम्म सार्वजनिक रुपमा विद्युतीय सवारी सञ्चालनका लागि कुनैपनि मापदण्ड नभएकाले एक महिनाभित्र मापदण्ड तयार गर्ने निर्णय भएको छ ।

    पदभारकै क्रममा बुद्धसिं मार्गमा पर्ने तनहुँ स्थित बन्दीपुर गाउँपालिका- ६ कुचिलाफेद र देवघाट गाउँपालिका-३ तनहुँ जोड्ने सडक अन्तरगत सेतीनदीमा पुल निर्माण कार्य आरम्भको लागि प्रकृया अगाडी बढाउने निर्णय भएको छ ।