काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । शनिबार राति साढे ८ बजे आकस्मिक रुपमा बैठक बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो ।
यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो । प्रधानमन्त्रीलाई दिएको २ दिनको समय सकिएपछि शनिबार बैठक बोलाएको हो ।
यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय दिने प्रस्ताव राखेका छन् । पार्टी सभापति रवि लामिछानेले शनिबार सॉझ प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेका थिए ।