दमाैली । नेपाली काङ्ग्रेस जाेशी समूहका नेता दीपकराज जाेशीले तनहुँकाे भविष्य स्वर्णिम अक्षरले लेख्ने अवसर आएकाे बताएका छन् । शनिबार समााजिक सञ्जालमा स्थानीय तह निर्वाचनका बेला आक्रमणमा परेकाे तस्वीर शेयर गर्दै जाेशीले अब आउने पुस्तालाई सुरक्षा, सुशासन, आत्मनिर्भरता र आफ्नै समाजमा गर्व गरेर बस्न लायक बनाउने अवसर आएकाे उल्लेख गरे ।
उनले भनेका छन्, ‘यो वेदव्यासको भूमि हो, यो पराशर भूमि हो। वेद व्यास जसले महाभारत लेखे । आज यो देश विषम परिस्थितिबाट गुज्रिरहेको छ। महाभारतमा पाण्डवहरुकाे जीत भए जस्तै यसपालि तनहुँमा सत्यको जित हुनेछ । आउनुहोस् सबै मिलेर यो महायज्ञमा एकपटक चर्को ध्वनि निकालौ जुन ध्वनी नेपाल भरी र अब आउने पुस्ताको कानमा सदैव गुन्जी रहने छ।’
उनले व्यास नगरपालिका-८ रिस्ती बुथमा आफूमाथि हमला गरेर मार्ने षड्यन्त्र प्रसङ्ग निकाल्दै भनेका छन्, ‘मेरो टाउको मा ८ वटा टाका लगाइएको थियो। म अहिले पनि उपचार गराईरहेको छु । त्यति बेला यो जिल्लाको कांग्रेसहरु र मेरो बुबाका साथीहरूले मानवीयता देखाएनन्। सायद उहाँहरुसँग मानवीयता थिएन होला । एउटा कुरा विचार गर्नु होला मानवीयता बिनाको राजनीतिले देशलाई समृद्धि दिन सक्दैन। त्यति मात्र कहाँ हो र टेलिभिजनमार्फत् दीपकराज जोशीलाई गोली हान्न पर्ने थियो लठ्ठी मात्र हानेछ भन्ने पात्र रामचन्द्र पौडेललाई देशको राष्ट्रपति बनाइयो भनेर खुसी हुँदै उत्सव मनाउनेहरुकाे फेसवुक पोस्टहरु अहिले पनि मेरो मानसपटल बाट गएको छैन ।’
उनले आफूहरुले सुरु गरेकाे विद्राेह आज देशभरि फेलिएकाे भन्दै समाजद्राेही, देशद्राेही हुनुभन्दा विद्राेही हुनु धेरै राम्राे भएकाे उल्लेख गरेका छन् ।