पोखरा । गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबको बाँकी अवधिमा हालकै गठबन्धन रहने बताएका छन् । बिहिबार मुख्यमन्त्री नियुक्त भएपछि सञ्चारकर्मीसँग उनले प्रदेश सभाको समय रहुन्जेल यहीं गठबन्धन कायम रहने प्रतिक्रिया दिएका हुन् ।
वैशाख ९ गतेको प्रदेश सभा बैठकमा बोल्दै उनले गठबन्धन कति समय टिक्छ भनेर आफूले ग्यारेन्टी लिन नसक्ने बताएका थिए । उनले मुख्यमन्त्रीमा आलोपालो समेत हुने बताएका छन् ।
सरकारलाई पूर्णता दिन गठबन्धन दल नेकपा माओवादी केन्द्रसँग संवाद सुरु गर्ने बताए । ‘त्यो क्रम भोलिदेखि नै सुरु हुन्छ’, उनले भने ।
छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनले दाबी गरे । ‘त्यो लामो समय जादैन पहिलाको जस्तो । मन्त्रिपरिषद् छिट्टै नै पूर्णता दिन्छौं’, उनले भने । मन्त्रालयको संख्या पनि ७ भन्दा नबढ्ने उनले जानकारी दिए ।
प्रदेशलाई आत्मानिर्भर बनाउन प्राथमिकता दिने पाण्डेले योजना सुनाए । ‘त्यसका लागि हाम्रो प्रदेशको समग्र हेर्दा विशेष गरेर ३ वटा क्षेत्रलाई फोकस गर्छौं । एउटा पर्यटनको क्षेत्र । एउटा जलविद्युतको क्षेत्र र एउटा कृषिको क्षेत्र’, उनले भने, यसलाई हामी प्राथमिकिकरण गरेर लैजान्छौं । विकास निर्माणका योजना अगाडि बढ्ने त स्वभाविक रुपमा बढ्छन् ।’