दमाैली । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले भाषाको संरक्षण गर्नु सबैको दायित्व रहेको बताएका छन् । प्रतिष्ठानको सहयोग र महिला दुरा समूहको आयोजनामा तनहुँको व्यास–१ मा सञ्चालित दुरा मातृभाषा तालिमको शुक्रबार समापन गर्दै सदस्य सचिव श्रेष्ठले भाषा भनेको सम्पत्ति भएकाले यसको संरक्षण गर्नुपर्ने बताए ।
गण्डकी प्रदेशमा गठन भएको प्रज्ञा प्रतिष्ठानले प्रदेशभित्रका सबै जातजातिका भाषा, संस्कृति, कला संरक्षणका लागि काम गर्दै आएको उनले बताए । उनले भने, “बाउ हराए वंश हराउँछ, आमा हराए भाषा हराउँछ । पछिल्लो समय भाषालाई महत्व नदिँदा दुरा भाषा पनि लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षणका लागि प्रतिष्ठानले पनि सहयोग गर्छ ।” उनले भाषा जोगाउनका लागि समुदाय नै बढी सक्रिय हुनुपर्ने उल्लेख गरे ।
प्रतिष्ठानका सदस्य कृष्णप्रसाद पौडेलले भाषा संरक्षणका लागि प्रतिष्ठानले काम गर्दै आएको बताए ।
प्रशिक्षक मुक्तिनाथ घिमिरेले दुरा भाषा लोप हुँदै गएकाले भाषाको संरक्षणका लागि प्रशिक्षण आयोजना गरिएको बताए । दुरा सेवा समाजका निवर्तमान केन्द्रीय अध्यक्ष देवबहादुर दुराले दुरा भाषा जोगाउनुपर्ने बताए । दुरा सेवा समाजका तनहुँ अध्यक्ष कृष्णबहादुर दुराले तालिममा सिकेका सीपलाई व्यवहारमा उतानुपर्ने बताए ।
दुरा महिला समूहकी अध्यक्ष विष्णुमाया दुराले एक महिनाको अवधिमा धेरै कुरा सिक्ने अवसर पाएको र अझैपनि यस्तो तालिमको आवश्यकता रहेको उल्लेख गरिन् ।
वैशाख २६ गतेदेखि सुरु उक्त तालिममा २५ जनाको सहभागिता रहेको थियो ।