दमाैली । तनहुँ जलविद्युत आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरिएको छ । सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत् उक्त आयोजनाले विद्यालयको सुविधासम्पन्न भवन निर्माणमा सहयोग प¥याएको हो । निर्माणाधिन भवन शिलान्यास गर्दै नगरप्रमुख दधिराज सुवेदीले यस आयोजनाले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे।
आयोजनाबाट असर पर्ने क्षेत्रमा आयोजनाले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार क्षेत्रमा गरेको काम सकारात्मक रहेको उनकाे भनाइ थियो ।
रु ९४ लाख ५७ हजारको लागतमा निर्माण सुरु गरिएको भवन विसं २०८१ माघ २४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए। उक्त आयोजनाले त्यस क्षेत्रमा आवश्यकताअनुसारको विकास निर्माणमा सहयोग गरेको उनले बताए ।
विद्यालयको भवन जीर्ण रहेकाले नयाँ भवनको आवश्यकता खड्किएको बेला आयोजनाको सहयोगले पठनपाठनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
उक्त आयोजनामार्फत् व्यास नगरपालिका–५ वेनीपाटनमा पराशर माध्यमिक विद्यालयको भवन पनि निर्माण भइरहेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयको दुई तले आठ कोठा भवनको काम भइरहेको हो । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच रु एक करोड ३८ लाख २४ हजारको लागतमा ठेक्का सम्झौता भएको थियो ।
आयोजनाबाट प्रभावित विभिन्न पालिकामा सामाजिक उत्तरदायित्वअन्तर्गत् नाला, तटबन्ध र आमा समूहको भवन निर्माणका साथै सडक बत्ती जडान, नदी नियन्त्रणलगायत काम हुँदै आएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।