निजी विद्यालयका शिक्षककाे गुनासाे – महामारीमा विद्यालयले हामीलाई हेरेन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निजी विद्यालयका शिक्षककाे गुनासाे – महामारीमा विद्यालयले हामीलाई हेरेन

    विनाेद ढुङ्गाना

    ६ श्रावण २०७७, बुधबार

    विद्यालय भन्छ, ‘दिन सक्ने अवस्था छैन्’

    तनहुँ/ मुनिराज खनालले निजी विद्यालयमा पढाउने थालेको दुई दशक बित्यो । उहाँले तनहुँको एउटै विद्यालयमा १८ वर्षदेखि निरन्तर अध्यापन गराउँदै आउनुभएको छ । जीवनको उर्जाशील समय विद्यालय र विद्यार्थीको हितमै समर्पित भयो । सदैव शिक्षणमै लाग्नुभयो । तर, अहिले आएर उहाँलाई विद्यालयले आफ्नो योगदानको कदर नगरेको आभास हुँदैछ । किनकी गत चैतपछि उहाँले मासिक तलब पाउनु भएको छैन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को सङ्क्रमण फैलन नदिन सरकारले चैत ११ गतेदेखी  लागु गरेको बन्दाबन्दी (लकडाउन) का कारण विद्यालयहरुबन्द भएपछि अभिभावकले शुल्क नबुझाएकाले निजी विद्यालयका शिक्षकले तलब पाएका छैनन् ।

    विद्यालय बन्द भएको बहानामा विद्यालयले तलब नदिएको उहाँको गुनासो छ । विद्यालय बन्द भएपछि विद्यालयले आफ्नो योगदान बिर्सिएको उहाँले बताउनुभयो । ‘‘अहिलेसम्म त हामीले तपाईहरुका लागि कमाईदिएकै हो । यत्रो लामो समयदेखि एउटै परिवार भएपछि विद्यालयले यो महामारीको बेलामा हामीलाई हेरेन्,’’ उहाँले भन्नुभयो, “मजदुरी गर्नेलाई पनि ठेकेदारले राहत भएपनि दिएकै छ । विद्यालय सञ्चालकहरुलाई हामीलाई त केही हेर्नुस न भन्दा हाम्रो आम्दानी नै छैन, पैसा उठ्नै बाँकी छ भन्ने जवाफ आउछ ।”

    उहाँ निजी विद्यालयमा आबद्ध भएको दुई दशक लामो अनुभवको आधारमा चार महिना विद्यालय बन्द हुँदैमा तलब दिन नसक्ने अवस्था नआएको दाबी गर्नुहुन्छ । “हरेक वर्ष मुनाफा राम्रै गरेको देखिन्छ । दुई तीन महिना विद्यार्थीबाट शुल्क नउठ्दैमा शिक्षकलाई दिनै नसक्ने अवस्था त होइन । उनीहरुको नियत नै तलब दिनै छैन,” उहाँले गुनासो गर्नुभयो ।

    अर्का शिक्षक नारायण पोखरेलले पनि महामारीको बेलामा आफू आबद्ध विद्यालय सञ्चालकहरुले कसरी घरपरिवार चलेको छ भनेर सामान्य सोधपुछ समेत नगरेको बताउनुहुन्छ । विद्यालय बन्द भएको समयमा पनि शिक्षकको योगदान र क्षमतामा आधारित पारिश्रमिक दिनुपर्ने उहाँको माग छ ।

    बसन्त सुवेदी यो समयमा विद्यालयले शिक्षकलाई सन्तृष्ट पार्न नसेकेको बताउनहुन्छ । लकडाउन अवधिमा पुरै तलब नदिएपनि केही प्रतिशत दिनुपर्ने उहाँको भनाई छ ।

    तनहुँका केही निजी विद्यालयले गत माघदेखि नै शिक्षक र कर्मचारीलाई तलब नदिएको पाईएको छ । तलबविहिन र कामविहिन भएर बस्नुपर्दा आर्थिक समस्यामा उहाँहरु गुज्रिरहनुभएको छ । यसले मानसिक रुपमा पनि तनाव दिएको छ ।

    तनहुँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मा आबद्ध ३७ विद्यालयमा करिब एक हजार शिक्षक र कर्मचारी आबद्ध छन् । यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) मा आबद्ध ५८ विद्यालयमा आठ सयको हाराहारीमा शिक्षक कर्मचारी कार्यरत छन् ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) तनहुँका अध्यक्ष गोपाल पराजुलीले चैतसम्मको तलब दिएको बताउनुहुन्छ । “चैतसम्मको तलब दिने निर्णय भएको हो । यदि नदिएको भए दिनुपर्छ,” उहाँले भन्नुभयो ।

    वैशादेखिको तलब भने विद्यालय सञ्चालन भएपछि मात्र दिन सक्ने उहाँको भनाई छ । “अहिले दिन सकिदैन, बैङ्कको किस्ता, गाडीको किस्ता बुझाउनुपर्छ । घर भाडा तिर्ने कुरा छ । तैपनि कसरी तिर्ने भईराछ,” उहाँले भन्नुभयो । विद्यालय सञ्चालन भएपछि शिक्षकहरुलाई राहत मिल्नेगरी तलब समायोजन गर्दै लैजाने उहाँले जानकारी दिनुभयो । विद्यालयमा गरेको करोडौ लगानी जोखिममा रहेको पराजुलीले जानकारी दिनुभयो । सङ्कटको बेलामा राज्यले निजी विद्यालय सञ्चालकलाई करमा समेत छुट नदिएको उहाँको दुखेसो छ ।

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) तनहुँका अध्यक्ष रामकृष्ण विकले पनि विद्यालय सञ्चालनमा आएपछि विस्तारै तलब दिने बताउनुभयो । “विद्यालय बन्द भएको अवस्थामा तलब नदिने भन्ने कुरा छैन । विद्यालयको अवस्था नाजुक भएर हो,” उहाँले भन्नुभयो, “हामी नै भनेर बस्नुभाको छ । लामो समयसम्म हामीलाई विश्वास गर्नुभएको छ ।” विद्यालयको अवस्था पनि बिग्रदै गएको उहाँले बताउनुभयो ।

    पछिल्लो समय तनहुँका निजी विद्यालय सञ्चालकहरुले विद्यालय खोल्ने तयारी गरिरहेका छन् । महामारीको अवस्था रहिरहेको अवस्थामा मानसिक हिसाबले विद्यालयमा गएर पढाउन तयार नरहेको बताउनुहुन्छ मुनिराज खनाल । असुरक्षित र तलब पाउने ग्यारेण्टी नभएकाले सेवामा फर्कन तयार नरहेको उहाँको भनाई छ ।