दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालित हाटबजारमा स्थानीय उत्पादनले बजार पाउन थालेको छ । गाउँपालिकाको सक्रियतामा प्रत्येक शुक्रबार सञ्चालन हुने हाटबजारमा कृषकले उत्पादन गरेका स्थानीय उत्पादनले बजार पाएपछि कृषक हर्षित भएका छन् ।
हाटबजारमा स्थानीय मह, गोलभेडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगान लगायतका दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ । हाटबजारमा स्थानीय उत्पादन विक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए ।
उनले भने, “हाटबजार कृषक र उपभोक्ता जोड्ने राम्रो माध्यम बनेको छ । उपभोक्ताले आफूले चाहेका उपभोग्य वस्तु एकैठाउँमा किन्न पाउनुभएको छ भने कृषकले उत्पादित वस्तु विक्री वितरणको माध्यम पाएका छन् ।”
प्रत्येक हप्ताको शुक्रबार सञ्चालन हुने हाटबजारमा उक्त दिन उपभोक्ताको भीड हुने केसीको भनाइ छ । उनले भने, “हाटबजार सञ्चालन हुने दिन के के वस्तु आउँदैछ भनेर उपभोक्ताले पहिल्यैदेखि सोधखोज गर्ने गरेका छन् ।”
आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका मह उत्पादक कृषक सुकबहादुर गुरुङले हाटबजारमार्फत् महले बजार पाएको बताए। उनले भने, “मह विक्रीका लागि बजारको अभाव छैन, हाटबजारमै छोपाछोप हुन्छ ।” उहाँका अनुसार मह प्रति केजी रु एक हजारमा विक्री भइरहेको छ । स्थानीय कृषक ममिता गुरुङले हाटबजार सञ्चालनले मह विक्री वितरणका लागि सहज भएको बताइन् ।
आँबुखैरेनी गाउँपालिकाले गत वर्षको फागुनदेखि सञ्चालन गरेको हाटबजार कृषकको सहयोगी बनेको छ । गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। चुमानका अुसार वार्षिक रु दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने उनले बताए ।
हाटबजारमा प्रत्येक शुक्रबार कृषकले उत्पादन गरेका सामग्री विक्रीका लागि राखिन्छ । स्थानीयस्तरमा उत्पादित कृषि सामग्री सहज रुपमा विक्री वितरण गर्न सहज होस् भन्ने उद्धेश्यसहित हाटबजार सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।