दमौली । जिल्लामा चालु आर्थिक वर्षमा एक सय १७ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार वैशाख पहिलो सातासम्म २३ सामुदायिक वनमा डढेलो लागेको पाइएको हो ।
डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएपनि डढेलोको क्रम नरोकिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।
जिल्लाको ८२ हजार ५ सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश वटा स्थानीय तहमा ६ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, ६ धार्मिक वन रहेका छन् । डढेलो लगाउनेलाई कानूनी कारवाहीको प्रावधान रहेपनि पहिचान गर्न कठिनाइ हुँदै आएको कार्यालयले जनाएको छ । गर्मीयाम सुरु भएसँगै यहाँका सामुदायिक वनमा डढेलोको क्रम बढेको श्रेष्ठको भनाइ छ ।
कार्यालयका अनुसार व्यास नगरपालिकास्थित साउनेपानी, बन्दीपुरस्थित पुरानकोट, ऋषिङस्थित जलुके कदमपानी, शुक्लागण्डकीस्थित सिमलचौर, देवघाटस्थित सोलीघोप्टे, साँढेबगर, म्याग्देस्थित मडुवा, व्यासस्थित सुन्दर, ठूलो, म्याग्देस्थित सिद्धबतासन सामुदायिक वनमा डढेलो लागेको छ ।
यस्तै म्याग्देस्थित बाङ्गेसाल, जुरेथुम्की, व्यासस्थित सिद्धबराह, दु्रपता, भण्डारीपाखा, मुरलीभञ्ज्याङ, घिरिङस्थित जनकल्याण, भिमादस्थित शिवशक्ति, ऋषिङस्थित गुम्लेक, ज्वालादेवी र बन्दीपुरस्थित पुरानोकोट सामुदायिक वनमा आगलागी भएको छ ।
सबै ठाउँमा लागेको आगो नियन्त्रणमा आइसकेको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासी र सामुदायिक वनका उपभोक्ताले हातेमालो गरेको श्रेष्ठको भनाइ छ ।
मानिसहरुले घर नजिकैको स्थानमा गाईबाख्राका लागि घाँस पलाउँछ भन्दै आगो लगाइदिने गरेका छन् । सोही आगो नजिकको वनमा सल्किदा डढेलोको रुप लिने गरेको छ ।
वन डढेलो हामी सबैको साझा चुनौति भएकाले सबै मिलेर यसको सामना गर्नुपर्नेमा उनको भनाइ छ । उनले भने, “वन डढेलोले तापक्रम बढाउनुका अतिरिक्त वन्यजन्तु तथा वनस्पतिको वासस्थान नष्ट गर्ने, माटो नाङ्गो र कमजोर बनाई भलको बहाव र गति बढाई भूक्षय, बाढी, पहिरो, डुबान जस्ता प्रकोपले धन, जन र सम्पदाहरुमा क्षति पुग्छ ।”
वन डढेलोले कम्तिमा दश प्रतिशत तापक्रम बढाउने बताइएको छ । वनमा डढेलो लगाउने कार्य गम्भीर अपराध मानी फौजदारी कसुरमा राखिएको छ । डिभिजन वन कार्यालयले जिल्लाका आठ वटै सव डिभिजनमार्फत् वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
डढेलोबाट भुइँमा झरेको रुखको बीउ डढेर उम्रन नपाउने, लाथ्रा अवस्थाको वनमा डढेलो लागेमा रुखमा धोद्रो हुने, डढेलोले वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको वासस्थान विनाश भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने र वनमा लागेको आगो नजिकको गाउँघरमा सरी धनजनको क्षति हुने जोखिम हुने श्रेष्ठको भनाइ छ ।
श्रेष्ठका अनुसार वन डढेलो हुन नदिन वनमा अग्निरेखा बनाई रुखको पात भर्ने समयमा सफा गर्ने, वनजङ्गल बाहिर लगेर मात्र गोल पोल्ने, आगो बल्ने चिज लिएर वनमा नजाने, सुकेका र ढलेका रुख तथा हाङ्गाविङ्गाहरु सुख्खामौसममा अगावै हटाउने गर्नुपर्दछ ।
गर्मी मौसममा बिडी, चुरोट खाएर ननिभाइ वनमा फाल्नाले, वन्यजन्तु भगाउन आगो लगाउनाले, नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलोको प्रकोप बढ्न सक्छ । श्रेष्ठले भन्नुभयो, “गोठालो तथा केटाकेटीहरुले मनोरञ्जनका लागि वनमा आगो बाल्नाले, वन नजिकका खेतबारीमा झारपात डढाउँदा आगो बाल्ने र ननिभाउने गर्नाले पनि आगलागीका घटना हुन सक्छन् । यसतर्फ सचेत हुनुपर्छ ।”
वन ऐन, २०७६ को दफा ५० को उपदफा ४ बमोजिम दफा ४९ को खण्ड (घ) अन्तर्गत राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल उपर गरी तीनवर्ष कैद वा रु ६० हजारसम्म जरिवाना हुने वा दुवै सजाय हुने प्रावधान रहेको छ ।