१, विषय प्रवेश ः–
पहाडी खस समुदायको आफ्नै लोकसंस्कृति र परम्परा रहेको छ । खसहरुको प्रागऐतिहासिक परम्परा भनेको नै मष्ट संस्कृति हो । मष्ट संस्कृतिको गहन अध्ययन चिन्तन मनन हुनु जरुरी छ । मष्टदेवताको कुनै स्वरुप हुँदैन । मष्टको पूजा धामीका माध्यमद्वारा हुने गर्दछ । धामीहरुले मष्ट आह्वान गर्दा र मष्टचढेको बेलामा धामीले पतुर्ने भाषा भोटबर्मेली परिवारको हुने गर्दछ । यसैलै खसहरु पनि मानसरोवर क्षेत्रबाट कर्णाली प्रदेश आएका हुन भन्नै पर्दछ । वास्तवमा मष्ट शान्त, दयालु र चांडै खुसी हुने देवताका रुपमा मानिन्छन् । यस्ता महान दयालु देवताको वास्तविकता र खसहरुको लोकजीवन अध्ययन गरी जनसमक्ष उजागर गर्नु हामी सबैको परम दायित्व हो तर यस सम्बन्धि गहन अध्ययन विना संभव पनि देखिंदैन । खसहरुले विगत देखि आजपर्यन्त अप्नाएको लोकजीवन र उनीहरुले व्यवहरित गरेको लोकसंस्कृतिहरुको बारेमा थाहा पाउन सक्दछौं । मष्टाको प्राचीनता तथा तथ्य प्रमाणका आधारमा पुरातात्विक अवशेष र लिखितप्रमाणका आधारमा मष्ट पूजालाई प्रकृति पूजा भन्ने गरिएको हो । वास्तव यो प्रकृति पूजा लगभग २० हजार वर्ष देखि सुरुआत हुँदै आएको हो भनेर युवा लेखक युभान नोआ हरारीको मत रहेको छ ।
मष्टको पूजा मष्टको कुलधामीका माध्यम तान्त्रिक विधिले गर्ने परम्परा रहेको छ । कुलदेवताका धामी मार्फत व्यक्त गरिएका कायाकैरन एवं ७००० वर्ष पूर्वदेखि आफ्ना पूर्व वंशजहरुले गर्ने गरेको मष्ट तथा कुलायन पूजा आज पनि खस समुदायका श्रीपाली बस्न्यातहरुले बागलुङ,सुरखेत, पोखरा, गोरखा, काठमाण्डौ, संखुवासभाको आँखीभूई र धनकुटाको लेगुवामा विधिवत सुरुआत गरी मष्ट प्रतिको धार्मिक अनुष्ठान र वंशजहरुको परम्परागत संंस्कृतिको जगेर्ना एवं संरक्षण गर्ने कार्यको निरन्तरता दिंदै आएको पाइन्छ । निराकार उपासनाका प्रतीक अर्थात आकृति स्वरुप एवं मूर्ति पूजाका विरोधी खसहरु प्रकृतिको प्रतिकात्मक ध्वजा सहितको लिङ्ग घण्टा, चमर, डमरु, हातहतियार, राष्ट्रियताको प्रतीक निशान आदिलाई आफ्नो आराधनाको सर्वस्व र साधनाको वर्चस्व मान्ने गर्दछन् । कहीं कहिं मष्ट देवताको गर्भगृह भित्रै मन्डालीलाई कुँवरपाठीको भोग दिइ पुजा गरेको पाइन्छ भने कहीं कहिं मौलो राखेर मौलोमा बलि दिइ पछि धामीहरुले बोको तथा साँडको रगत चुस्दै मष्ट माण्डौ (मन्दिर) घुमेको परिक्रमा गरेको पनि देखियो । वास्तवमा मष्ट शाकाहार देवता हुन् । यसैले मष्टलाई शिव अंश मानेर सात्विकी देवताको रुपमा पुजन गरिन्छ । मष्टको पूजामा मष्ट थानमा रगतको छिटा प¥यो भने अनिष्ट हुने विश्वास रह आएको छ । मष्टका भान तथा बाहनहरुलाई खुसी पार्न र मष्टको सुरक्षा गर्न सक्ने शक्तिशाली बनाउन ५२ वीर १६ मसानी , लगायतका मष्ट (शिव) गणहरुलाई बलि दिने प्रथाको सुरुआत भएको हो । प्रकृति प्रेमी खसहरुको कुलायन महापुजामा कुलका धामी, लोकका त्राणदाता शिवका प्रतीक मस्तकेश्वर वीरभद्र, आद्याशक्तिकी प्रतीक दुर्गाभवानी महाकाली तथा सुर्मादेवी र लोकका त्राणदाता वायु (मरुत्तेश्वर)का धामीहरुले पूजामा कम्पन हुँदा कहेको कैरनबाट हाल सम्म ज्ञात हुन आएका धामी तथा डाङ्ग्रेहरुको संंक्षिप्त इतिहांस, खसहरुको कुलायन पूजा विधि र यस पूजाको सुरु देखि अन्त्यसम्म भएका केहि रोचक पक्षहरुका विषयमा प्रष्ट गर्ने चाहना रही आएको छ । कुलायन देवताको चर्चा गर्दा मष्टदेवता मस्टकोे व्युत्पत्ति, उद्भव, मष्टमण्डली र भवानीको परिचयका बिषयमा प्रष्ट पार्नु पर्ने आवस्यकता महसुस गरेको छु ।
२) देवता र राक्षसहरु भन्नाले के बुझिन्छ ?
राम्रो र असल काम गर्ने आदर्शवान व्यक्तिहरुलाई देवता र अरुलाई दुःख पिर दिनेहरुलाई राक्षस भन्ने चलन हाम्रा पूर्वजहरुको विशिष्टीकरण हो । इरानीहरुको जरथु्रस धर्मको धार्मिक ग्रन्थ अवेस्तामा पनि देउतालाई “असुर” र राक्षसलाई “ दएव ” भनिएको पाइन्छ । यही असुर शब्द ऋगवेदमा नराम्रो अर्थमा १५ पल्ट र राम्रो अर्थमा ९० समेत १०५ पटक प्रयोग गरिएको पाइएको छ । आर्यहरुको दुइखाले बगालको बीचमा भएको बैमन्स्यताले गर्दा आपसमा तकरार परेको पाउँदछौ्र । वैष्णवहरुले प्रतिपादित गरेको वर्णाश्रम धर्म नमानेकै कारण भगवान शिवलाई पनि अथर्ववेदमा व्रात्य भनेर हेपिएको छ । उनै शिवका अनुयायी खसहरुलाई झन स्वतहः ब्रात्य जाति भनेर खसालिएको हो । वैष्णव र शैव बीचको लामो अन्तर संघर्षमा शिव पक्षको विजय भए पछि वैष्णवहरुले ब्रह्मा, विष्णु, महेश्वर समेत तीनै देवतालाई समान शक्ति भएका देवताको स्वरुपमा स्वीकारेका हुन् भन्न सक्दछौं । त्यही बेला देखि देवता र असुरको शाब्दिक अर्थ परिवर्तन भएको पाउँदछौं । हाम्रा मिथिला क्षेत्रमा लेख्य भाषमा स्थायी लेखेता पनि कथ्य भाषामा अस्थायी र अस्थायीलाई अअस्थायी भनेर बोलिन्छ । त्यसरी नै बेदमा पनि सोही शब्द सुरको अर्थ देवता र असुरको अर्थ राक्षसमा रुपान्तरित हुन पुगेको होला । एकले अर्कोलाई नीच देखाउने, आफै ठूलो र सभ्य हुँ भन्ने देखाउने प्रयासमा आफुलाई देवखलक र अरुलाई राक्षसखलक भन्न भ्याएका नै हुन् । हामी पाल्पा बस्नेलाई पाल्पाली , गोर्खा बस्नेलाई गोरखाली भने झैं डेन्युव नदीको दायाँवायांँ किनारमा बस्न जातिलाई डेनुबेली भन्न थालियो होला । त्यही डेनुबेली शब्दको घर्षित स्वरुप दानव बन्न गएको हो भन्न सक्दछौ्र । इरानी इराकी तथा अरव मुलुक निवासी खसहरुलाई र चीनीया तथा मङ्गोलीयनहरुलाई राक्षस जातिमा दर्ज गरिएको हो । मनुस्मृती , महाभारतमा उल्लेख गरिएका झल्ल,मल्ल, नट, करण, खस र द्रविणहरुलाई पाप योनीबाट जन्मिएका वर्णाश्रम धर्मच्यूत ब्रात्य जाति भनिएको छ । यिनै यक्ष, गन्धर्व, दरद पिचास भनेर हेपेको र घृणा गरेको पाउँदछौं । यक्ष जातिलाई खस, चीन तथा मङ्गोल जातिलाई दरद र पिचास, किराँत जातिलाई किन्नर र द्रविडहरुलाई बाहीक जाति .भनेर हेपेको पाउँदछौं ।
३ , मष्ट भनेको के हो?
खस जातिले मान्दै र पुज्दै आएको निराकार देवताको नाम नै मष्ट हो । योगी नरहरिनाथको भनाइ अनुसार मस्तक (शिर)शब्दबाट मष्ट शब्द उत्पति भएको हो भन्नु भएको छ । सुरुमा मष्टदेवता एउटा मात्रै थिए । मष्ट देवताको नाम थपिंदै जाँदा बाह्रमष्ट भन्न थालियो । खसहरुले मान्दै आएका बाह्रमष्टलाई कथित आर्यहरुले हिन्दुकृत गर्दै बाह्रमष्टलाई वराहमष्ट भनेर सम्बोधन गर्न थालेको पाउँदछौं । पछि आएर वारामष्ट नै बनाइ दिए । यिनै बाह्रमष्टलाई बढाउँदै अहिले १८ मष्टो र ८४ उपभेद मान्ने गरेको पाउँदछौं । तर खोतल्दै जाँदा अहिले १२४ उपभेद भेटिएको कुरा प्रकाशमा आएको छ ।
४, मष्टको बाहन के हो ?
मूल रुपमा मष्टको बाहन घोडा हो । तर भेंडा, चितुवा र जाड्या पनि मष्टको वाहनका रुपमा मानिन्छन् ।
५), मष्टदेवता नै वेदका रक्षक हुन ।
नेपाल बहुजाति र बहुधर्मको विकास भएको भूमि हो । महर्षि वेदव्यासले दमौलीको व्यास गुफामा बसेर चार वेद अठार पुराण र अनेकौं स्मृतिको लिपिबद्ध गरेका थिए भने वोनधर्मका संस्थापक वोनपा शेरावले हुम्ला जिल्लामा वन झांक्रीबाट दिक्षा प्राप्त गरेर वोनधर्मको सुत्रपात गरेका थिए । त्यही धर्म अहिले स्याङ्गसुङ्ग सभ्यताले परिचित छ । कपिलबस्तुका शाक्यसिंह सिद्धार्थ गौतमले बौद्धधर्मको सुत्रपात गरे । त्यही धर्मलाई नेपालका राजकुमार गुरु पद्मसम्भवले पाँचौं एवं छैटौ.शताब्दीको आसपासमा वोनधर्मलाई विस्थापित गर्दै तिव्वत र नेपालमा बौद्धधर्मको बलियो जग बसालेका हुन् । वैदिक सनातन धर्मको विकास हुनु पूर्व नै नेपालमा मष्टधर्मको विकास भइसकेको थियो । आफनो अध्ययनको गहन निष्कर्षमा मष्ट नै वेदको रक्षक भएको उदघोष प्रेम कैदीले गर्नु भएको हो । एक कक्षा पनि नपढेको मष्टको भान्जा वाणशालाका धामीले पतु¥यो भने वेदको सबै ऋचा खरर पतुर्न सक्दछन् । बौद्धधर्मका लामाहरुले लिपिबद्ध बौद्धशास्त्र पाठ गर्दछन तर वोनधर्मका गुरुङहरुका ध्याप्रिङ, झांक्री तथा पच्युहरुले मुखाखार सरर भनेर धार्मिक कार्य सम्पन्न गरेको पाइरहेका छौं । वास्तवमा संस्कार शास्त्र भन्दा जेठो भएकोले सांस्कृतिक परम्परालाई अनुशासित बनाउन र एकरुपता ल्याउन पछि विद्वानहरुले यस्लाई लिपिबद्ध गरेका हुन भनिन्छ । अन्ततः हजारौं वर्षको व्यवहारिक अनुभवलाई भाषामा लिपिबद्ध गर्ने परम्पराको सुरुवात भयो । सनातन हिन्दु धर्मका महर्षि वेदव्यास श्रीकृष्ण द्वैपायनले श्रुतिमा रहेको वेदलाई चार भागमा लिपिबद्ध मात्र गरेका हुन भनिन्छ । तर मष्टधर्मको त्यस्तो कुनै पनि लिखित धर्मशास्त्रको दस्तावेज हालसम्म पाउन सकेका छैनौ ।
प्राकृत धर्मालम्वी मष्ट अनुयायीहरुको धर्मग्रन्थ सम्बन्धमा एउटा लोक किंबदन्ती रहेको पाउँदछौं । एक पटक राक्षसहरुले धवलपुरलाई टुक्राटुक्रा पारेर मार्ने योजना बनाए रे । मन्दिरको नजिकै बसेर धवलपुरले वेद पढिरहेको देखेर राक्षसहरुलाई असह्य भयो रे । असुरहरुले धवलपुरलाई मार्ने योजना बनाए रे । धवलपुरले पढिरहेको वेद जलाउने र वेदका वाचक धवलपुरलाई पनि मार्ने षडयन्त्र थाहा पाएर मष्टको भान्जा वाणशालाले बेदलाई मष्टमाण्डौ नजिकै शिलामा परिणत गरी दिएर राक्षसहरुका हातबाट मामा धवलपुरको ज्यान र वेदलाई जलाउनबाट जोगाएका थिए रे । त्यही बेला देखि मष्ट उपासकहरुले भान्जालाई झोलीको देवता मान्ने गरेका हुन् । झोलीका देवतालाई मष्ट सँंगै शिला थापना गरेर भाञ्जाको पनि पूजा गर्ने परम्परा बसाएका हुन् भनिन्छ । दमौलीको व्यास प्रयागमा त्यही शिला जयशिला स्मारक भएर रहेको छ ।
अर्को कथा अनुसार कुशा भट्ट चारधामको तीर्थ यात्रा सम्पन्न गरी घर फर्कंदै गर्दा शङ्द्वारमा एउटा शिला फेला पारेछने । उक्त शिलालाई आफ्नो झेलीमा राखेर संगै ल्याएछन् । एक दिन राती सपनामा उक्त शिलाले आफु सैपालहिमालको काखमा बस्न चाहेको व्यक्त ग¥यो रे । कुशाभट्टले उक्त शिलालाई ढंडारमा ल्याएर स्थापना गरे रे । खर्कमा रहेको दही बनेलले चोरी खाइ दिंदा जसराज गोठालाले बनेल समाउन खोज्दा मूर्छा प¥यो रे । बिउंझदा गोठालले पतुर्दै म बाबिरा मष्ट हुँ मेरा माण्डौ बनाई गाभिरमा खोपो राखी मेरो र बहिनी भवानीको पूर्णिमाको दिन पूजा गर्नु भेकोले सोही अनुसार पूर्णिमाको दिन पूजा हुँदै आएको छ ।
यसैले मष्टधर्म नै सनातन धर्मको जननी हो भन्न सक्दछौं । इरान इराक तर्फ मष्टको पूर्व रुपलाई अहुरमज्दा भन्ने गरिन्छ । मष्टधर्म मान्ने प्रथम व्यक्ति आदमनाथ हो । आदमलाई नै आदिनाथ भनिन्छ । भगवान शिवले अलकापुरी शकसिंह (बहादुर) लाई दिए । तिनै शकसिंह देवताका राजा इन्द्र तथा मष्टदेवता भए । नेपालको इतिहांँस तोडमरोडका साथ लेखेर राहुल सांस्कृत्यानले नेपालको इतिहाँस बिगारे । नेपालको इतिहांस लेखनमा डिल्लीराज रेग्मी र योगी नरहरिनाथ देशको कुना कन्दरामा गए । योगिले त कमसेकम ५७३ पुस्तक रचना गरेका थिए रे । ती सबै पुस्तक प्रकाशन गर्न भन्दा काङ्ग्रेस, पञ्च र बामपन्थी सरकारहरुले जलाएर सर्वनास गरे भन्ने कुरासमाजका आवाज डटकमको अन्तरवार्तामा प्रेम कैदीले बताउनु भएको छ ।
६ ) मष्टको स्वरुप कस्तो हुन्छ ?,
ॐ कार स्वरुपमान शक्ति रुप देवीहरुको पूजन गरिएको हो । प्रकृति ॐ कारको पहिलो मात्रा “अकार” नै विश्वरुप हो, जुन सक्रिय भएर नै विश्वरुपमा प्रकट हुन्छ । त्यसैले अमात्रालाई सृष्टिकर्ता ब्रह्माको रुप मानिन्छ । ब्रह्मारुप अमात्राबाट नै प्रकट हुन्छ भने ब्रह्मा, प्रकृति र अकार तीनवटै एकै हुन ।६ ॐकारको दोश्रो मात्रा “उकार” स्वप्न अवस्था रुप हो । माया मोह विषयमा ज्ञात भए पछि मानव सान्सारिक विषय वासानाबाट तिक्त भई आत्मज्ञानको खोजीतर्फ लाग्दछ जसवाट उस्ले परमात्मा परेमश्वरमा लीन हुन पुग्दछ । ॐकारको तेश्रो मात्रा “मकार” शुषुप्ति रुप हो र प्राज्ञ हो, जसबाट विषय वासना परित्यक्त भै इश्वर प्राप्तिको अभिलाषा मात्र शेष रहेको हुन्छ । यसरी ॐ कारको तिनै मात्राको सम्बन्ध प्रकृति, जीव र इश्वर तीनवटै संँग रहेको हुँदा भक्तजनहरु यी सम्पूर्णको अनुभव गर्दै अन्तमा परब्रह्ममा नै लीन हुन्छन् । अतः विश्वको परमाणु जुन धुरीमा घुमिरहेको छ ति सम्पुूर्णका केन्द्रीभुत ॐकार मात्र हो । जुन परम शिवतत्वको स्वरुप हो । खसहरुमा पनि श्रीपाली बस्न्यातहरु कुलायन देवता शिःसाकोटी महादेवतालाई प्रत्येक दिन“ॐ ऐं सौं ह्रि ”शिशाकोटी महादेवाय”कुलदेवताय ह्र्रि.ॐ स्वाहा” मन्त्र जप गरेर इच्छित वरदान प्राप्त हुने कुरामा विश्वास गर्दछन् ।( मन्त्रमा— “ अरुहरुको हकमा शिःसाकोटी महादेवाय” भनेको ठाउँमा आफ्नो कुलदेवताको नाम सम्झने )
७, मष्टो देवताको मन्दिर र मूर्ती हुन्छ हुँदैन ?
सभ्यताको विकास क्रम सँंगै मानिस जान्ने स्ुन्ने भयो । उस्मा ज्ञानको वोध भयो । ज्ञानको माध्यमबाटै के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने विषयमा विचार गर्न सक्ने भयो । मान्छे देवता भन्दा जेठो छ । तथापि मान्छे स्वयंले मान्छे बाट देवताको सृष्टि भएको वकालत गर्न छोडेर इश्वरबाटै मान्छेको सृष्टि भएको सिद्धान्त प्रतिपादित गरेको महसुस भएको छ । मानिस आफैले बनाएको देवता तथा अदृष्य शक्तिलाई महान र आफैलाई सानो बनाएको पाउँदछौं । कता कता देवताको परिकल्पना सर्वप्रथम मानिसहरुले नै गरेका हुन भन्न सक्दछौं । सबै धर्म भन्दा जेठो धर्म र प्राचीन देवता मष्टदेवता नै हुन । मष्ट अलौकिक देवता हुन । हिन्दु धर्ममा विभिन्न देवी देवताको भिन्न भिन्न आकार प्रकारका मूर्ति भएता पनि मष्टदेवताको मूर्ति र मष्टोको मन्दिर आज सम्म भेटिंएको छैन । तर मष्टदेवताको सरसामान र प्रतीक राख्नको लागि कुलायन घर ( घरथान) भने बनाउने गरिन्छ तर मन्दिरको स्थानमा मष्टदेवताको छाना नभएको मष्टमाण्डौ ( थान ) भने पाइएको छ । मष्टको थान रुखको फेद तथा ओडारमा बनाएको पाउँदछौं । मष्टदेवता धामीको अङ्गमा औत्येर आउने भएकोले मष्टको प्रतिनिधित्व पनि धामीले नै गरेको पाउँदछौं । धामीकै माध्यमबाट डाङ्ग्रेले मष्टदेवताको पूजाआजा गर्दछन् । श्रीपाली बस्न्यातको कुलायन पुूजाका पुजारीलाई धुपौैरेको नाम दिएको पाउँदछौं ।
८, मष्ट शब्दको व्युत्पत्ति कसरी भयो ?
मष्ट शब्दको उत्पति कसरी भयो भन्ने विषयमा विभिन्न विद्वानहरुको मत विभिन्न पाइन्छ । वायु खस आर्यहरुको अति प्राचीन देवता हुन । आफ्ना पूर्वजहरुको प्राणवायु यसै वायुमण्डलमा विचरण गरेको महसुस गरी पितृलाई देउताको रुपमा पूजा गर्ने खसहरुको विशिष्ट परम्पर हो । खस भाषामा पितृलाई वायु पनि भनिन्छ । संस्कृतमा त्यही वायु शब्दलाई मरुत शब्दले सम्बोधन गरिन्छ । मरुत्त पानी, आंँधी, बेहरी ( हावा) र बिजुलीका देवता पनि हुन् ।
मरुतको वास्तविक शब्दार्थ पानी र आंँधी बेहरीको घर्षण स्वरुप प्रकट हुने बिद्युतीय रुप हो । यही मरुत शब्द नै कालान्तरमा मस्त हुँदै मष्ट हुन गएको हो भन्ने भनाई रहेको छ । अर्को तर्फ मरुत्तास शब्द मरुत देवता संँग निकट सम्बन्ध राख्दछ । यही मरुत्तास शब्द क्रमिक रुपमा —मउत्त—मउट्ट—हुँदै मष्टको शब्दको विकास भएको भन्ने पनि छ । अर्कोतर्फ मरुत्तास शब्द मरुत देवता सङ्ग निकट सम्बन्ध राख्दछ । यही मरुत्तास शब्द क्रमिक रुपमा मउत्त, मउट्ट, हुँदै मष्टको शब्दको विकास भएको भन्ने पनि छ । फारसीहरुको कुलदेवताको नाम मज्दा हो यही मज्दा शब्दबाट शब्द अपभ्रँश भइ मष्ट बनेको हो कि भन्ने ठाउँ रहेको छ । हुनत सूर्ति साईले सम्बत १५४७ मा जारी गरेका एउटा कागजमा मष्ट शब्द फेलापरेको छ जस्लाई मष्ट सम्बन्धी सबै भन्दा पुरानो अभिलेख मानिन्छ । खश जातिका देवी—देवता जनाउने पारिवारिक शब्द मशु र बशु हुन् । स्थान विशेष मशु शब्दमा उच्चारण भेद फरक पर्दै जानाले मशु शब्द बाट मस,मष्ट हुँदै मष्ट हुन गएको नकार्न सकिन्न ।
संस्कृत शब्दमा मानिसको शीरलाई मस्तिष्क, मस्तक पनि भनिन्छ । मानिसको मस्तिष्कमा अपूर्व चेतनाशक्ति रहन्छ । मानिसलाई असतबाट सत्मार्गमा डो¥याउने महत्वपूर्ण चेतन शक्ति नै बुद्धि हो । यसैले शरीरको मस्तकलाई देवता मान्ने खसहरुको आफ्नै विशिष्ट परम्परा हो । यसैले मस्तकबाटै मष्ट शब्दको व्युत्पति भएको हो भन्न सकिन्छ । कसै—कसैले महादेवका मस्तक गणबाट मष्ट वा मष्टो शब्दको विकास भएको हो पनि भन्ने गरेका छन् ।
सत्यमोहन जोसीका अनुसार कर्णाली भेग तिर मान्छेलाई मन्ठ,मन्ठा वा मन्टा पनि भन्ने गर्दछन् । मष्टोको व्युत्पत्ति हुँदै जांदा मन्ठाले (मान्छले)े मानेको देवताको नामबाट मष्ट हुन पुगेको हो । डा. सुरेन्द्र के.सी.का. भनाइमा मष्ट भनेको भूमिको आमा सम्पूर्ण सृष्टिको सृष्टिकर्ता, खसजातिको मुख्य कुलदेवता पथप्रदर्शक पालनकर्ता र सम्भारकर्ता पनि हुन् भनेका छन् ।
शिवका सहस्र नाम भित्र पर्ने महोष्ठ शब्दबाट रुप परिवर्तन हुँँदै स्थानीय खस भाषामा महोष्ठ शब्दको बीचको अक्षर हो लोप भइ मष्ठ, मष्टो हुँदै मष्ट भएको हुन सक्दछ । योगि नरहरिनाथले मष्टलाई महेश्वरको अंश अवतार मानेका छन् । उनले अष्टमूर्ति महादेव शिवको ( पृथ्वी , जल , तेज, वायु आकाश, चन्द्र , सूर्य र आत्मा ) महा +अष्ट भुजौ) —महाअष्ट, महाष्ट हुँँदै मष्ट भएको पनि हुन सक्दछ । अर्को तर्फ मष्टो शव्द महा +इष्ट बाट महेष्ट हुँँदै मष्ट भएको पनि हुन सक्दछ ।
क) मष्टो निराकार र बाल ब्रह्मचारी देवता मानिन्छन् । मष्टोलाई पितृ स्वरुपमा वायु, प्रकृतिका प्रतिकमा लिङ्ग ध्वजा—पतका ,रक्षाका सुचकमा हातहतियार,र शीला थापेर पुजा गरिन्छ । मष्टो र भवानीको साथै महाँकाल, भैरव लाटो, तेडी, समैजी भूतप्रेत, भुईयार , सासल्या, बज्रठिङ्ग्याल,खोल्या, वेताल जस्ता डुलुवा सेवकहरु र मष्टोका रिस्तेदारहरु भाञ्जा (वाणासुर) , भाञ्जी को पनि पुजाआजा गर्ने गरिन्छ ।
ख) खसहरुले मानी आएका मष्टो देवतालाइ आर्यजातिहरुको वेद र पुराणमा कहीं उल्लेख भएको नपाइएकोले खसहरु आर्य हुन भनेर ठोकुवा गर्ने ठाउँ रहेन ।
ग) मष्टको थान तथा घरमाण्डौमा भित्रै मष्टको गादी बनाइएको हुन्छ । कतै मष्टको गादी माटोको मैरोले बनाइएको हुन्छ भने कतै ढुङ्गाकै छपनीले बनाइएको पाइन्छ ।
घ, मष्टको थान , घरमाण्डौ र वनमाण्डौ प्रायस कैलाश मानसरोवर तर्फ फर्काएर बनाएको पाउँदछौं । मष्टथान नजिकै देवीथान र करिव २० मिटरको दुरीमा क्षेत्रपाल दूधेमष्टका थान बनाइएको हुन्छ ।
ङ, मष्टको पूजाआजामा धामी डाङ्ग्री , पुजारी , दमाई, गाइने र कविलास ( कैलाश भाक्ने) नियुक्त गरिएका हुन्छन् ।
च, धामी पछि डाङ्ग्रीले कुलायन थान, कुलका भाँडाकुँडा र अरु सामाग्रीको रेखदेख र सुरक्षाको जिम्मेवारी सुम्पिएको पाइन्छ । तर गोरखा स्थित श्रीपाली बस्न्यातहरुको कुलायन मन्दिरको स्याहार सम्भार नभए पछि पुन पछि सबै दाजुभाइको सहयोगमा व्यवस्थित गरिएको हो ।
छ,आप्टेको शव्दकोषमा महिष्ठको अर्थ महानदेवता तथा महादेव मानिएको छ । वेदमा शिवजीलाई महिष्ठ पनि भनिन्छ । त्यही महिष्ठ शब्दको घर्षितस्वरुप मष्ट भएको हुन सक्दछ । महिष्ठ मष्ट हुँदै नेपालीकरणमा महादेव भनिएको होला । स्थान विशेषले शिःसकोट शब्द बन्न पुग्यो । त्यही शिःसकोटका देवता शिःसाकोटी महादेव पुकार्न थालिएको हो भन्दा फरक नपर्ला
९, मष्टोको पुजा किन पूर्णिमाका दिन गरिन्छ ?
कोही कसैले पञ्चमी अष्टमी तिथिमा मष्ट पूजा गरेता पनि खास गरेर पूर्णिमाको दिनमा नै कुलायन पूजा गर्ने परम्परा रहेको छ । यसै बारोमा फेला परेको एउटा सानो किंबदन्ती कहानी प्रस्तुत गर्न गइरहेको छु । विशेषगरी कुलपूजा भुन्टुधामीका परम्परा देखी चल्दै आएको बताउँछन् । हुन त तीर्थ व्रतको गर्नका लागि भारतका चारधाम जाने नेपालीहरुको पुरानो चलन हो । धेरै वर्ष पहिलो हाम्रा बाउबाजेहरु तीर्थ व्रत गर्न भारत गएका थिए रे । चारधामको तीर्थ यात्रा सकेर तीर्थालुहरु डोकोमा भारी बोकेर नेपाल फर्कदैं थिए । घर फर्केर आउँदा डोकामा शिलाको नाममा एउटा ढुङ्गा पनि संगै ल्याएका थिए रे । तीर्थयात्रीहरुलाई बीच बाटोमा रासनपानीको साह्रै दुःखकष्ट पर्न गयो रे । दुःख कष्ट परेको बेलामा त्यो ढुङ्गाले खाना नपुग्दा एक मुठी चामलले पांँच दिन सम्मको गर्जो टारेको थियो रे । दुःखकष्ट पर्दा सहयोगी शिलालाई उनीहरुले साथैमा ल्याएका थिए रे । घर जाँदाजाँदै खड्का काजी र बाहुनबाजे सिञ्जापती राजाका दरवारमा पुगेछन् । सिञ्जापती राजाले डोकोमा के ल्याएका छौ भनेर सोध्दा खड्का काजीले ढुङ्गा ल्याएको भनेर जवाफ दिएका थिए रे । राजाले यस्को के काम छ भनेर सोधनी गर्दा यस्ले के गर्छ हामीलाई पनि थाहा छैन भनेछन् । तर जे होस यो ढुङ्गो साथै ल्याउँदा हामीलाइ रामै्र भएको छ भनेर राजामा विन्ती बिसाए रे । हामीलाई दुःख कष्टमा सहयोग पु¥याएकोले हामीले संगै ल्याएका हौं पनि भनेछन् । तत्कालै राजाले जोतिषलाई आज के तिथि हो भनेर सोधी हालेछन् । अनायस जोतिषले पूर्णिमा तिथि हो भनेर जवाफ दिएछन । औंसीका दिनलाई पूर्णिमा तिथि भन्ने कस्तो ज्योतिष रहेछ भनेर सोधेछन । पात्रो हेर्दा औंसी नै देख्दा ज्योतिष पनि अलमलमा परेछन । अब मलाइ राजाले संँजाय गर्नै भए भनेर ज्योतिष डराएछन् । जे पर्ला पर्ला भनेर ज्योतिषले त्यो शीलालाई पुजेर आफुलाई परेको दुःख पोखेछन् । ज्योतिषको पिडालाई शान्त बनाउन शिला स्वयं बोल्यो रे । शीलाले ज्योतिषलाई कांँसको थाल लिएर राजाको दरवार जान र कांँसको थाललाई आकासमा उडाउन अह्रयाएछन् रे । त्यो थालले आकासमा पुगेर औंसीको दिनमा पनि पूर्णिमाको जुन देखिने छन भनेछन् । ज्योतिषले त्यसै गरे रे । नभन्दै कांँसको थाल आकासमा पुगेर पूर्णिमाको जुन देखाइ दिए रे । केही केही जातिहरुले पञ्चमी र अष्टमी तिथिमा मष्टपूजा गरेता पनि धेरै जात जातिहरुले मष्टदेवता शक्तिशाली रहेछन भनेर त्यहि बेला देखि पूर्णिमा तिथि पारेर मष्टो पूजा गर्न थालेका हुन भन्ने किंवदन्ति रहेको छ । तैपनि दुर्गा भवानीकोे सानिध्यमा रहने हुनाले शिवका गणहरुलाई रक्त बली दिने गरिन्छ । खशराजधिराज रिपु मल्लले नरबलि हटाएर नरिवल बलि दिने प्रथा चलाएको कुरा यात्रीजीले सेती दिग्दर्शनमा उल्लेख गर्नु भएको छ । बैसाख शुक्ल पूर्णिमा, बैशाख शुक्ल चर्तुदशी , जेष्ठशुक्ल पूर्णिमा ,भाद्रशुक्ल पूर्णिमा, भाद्रशुक्ल कार्तिक शुक्लपूर्णिमा, मंसिर शुक्ल पूर्णिमा, पौष शुक्ल पूर्णिमा र माघ शुक्ल पूर्णिमामा मष्टको पूजा गर्ने परम्परा रहेको छ ।
अन्त्यमा बाह्रभाइ मष्ट, मष्टको ८४ उपभेद , नौ भवानीहरुको विस्तृत परिचय अर्को अङ्कमा समावेस गर्ने गरी यस लेखलाई यही बिट मार्ने अनुमती चाहन्छु ।
खसहरुको कुलदेवता मण्डली
खसहरुको कुल देवता मण्डली बारे जानकारी प्राप्त गर्न मष्टधर्म ( प्राकृतधर्म) m मष्ट परिवार , मष्टका दिदी बहिनी र सहयोगीहरुको अध्ययन हुन जरुरी छ । जस्लाई यहाँ सिलसिलेवार अध्ययन गर्ने प्रयास गरिएको छ ।
मष्टधर्मको उद्भवस्थल
वैदिक सनातन धर्ममा मष्टधर्मको विषयमा कहीं चर्चा परीचर्चा गरिएको पाईदैन । हिन्दुधर्मको वेद तथा पुराणमा देवाधिदेव महादेवको रुपमा पुजित हुने मष्ट देवताको विषयमा कहिं कतै पनि उल्लेख गरेको पाईदैन । यसैले यो हिन्दुधर्मको सम्प्रदाय तथा शाखा नभएर हिन्दुधर्म भन्दा नितान्त फरक धर्म हो भन्न करै लाग्दछ । मष्टधर्मका आफना छुट्टै विशेषताहरु भएकोले यसलाई हिन्दुधर्मको सम्प्रदायमा जोड्दा अन्याय नै ठहरिन्छ । ऋगवेदमा रुद्रको व्याख्या भएता पनि शिवको व्याख्या कहिं पनि पाईंदैन । हिन्दुधर्मालम्बीले जसरी बुद्धलाई भगवान विष्णुको नवौं अवतारको पछि मात्र स्वीकारे त्यसरी नै देवाधिदेव महादेव शिवलाई पनि पछि मात्र स्वीकारेका पाउँदछों । (श्रोत— के हो मष्ट संस्कृति ? यस्तो छ यसको इतिहाँस — तेज कार्की )
आज भन्दा ५००० वर्ष पहिले देखि नै मष्टो धर्मको उत्पत्ति भएको मानिन्छ । हाम्रा प्राचीन संस्कृति परम्परा देवी—देवताका उपसाना गर्ने चलन बेविलोनबाट आएको हो भन्न सक्दछौं । सर्वप्रथम मष्टोको उत्पति इराकको बेबिलोनमा भएकोमा कुनै द्विविधा छैन । तर बेविलोनबाट …………काशगरमा रहने खसहरुको तेश्रो शाखा कारकोरम पार गरेर लद्दाख पूर्व मानसरोवर क्षेत्रमा आएर बसोबास ग¥यो । कश जातिले सबै भन्दा पुरानो देवता मरुत्तासलाई बिर्सन सकेन । खस जाति शिवगण मरुतको (बिद्युत हावाको) उपासक बन्यो । त्यही जातिले मरुत्तसलाई पानी ,आँंधीवेहरी (वायु) र बिजुलीका देवताको रुपमा स्वीका¥यो । यसरी मरुत्तसलाई (वायु) मानसरोवरमा इष्टदेवता तथा कुलदेवताको रुपमा मान्ने प्रचलनले मरुत (वायु)लाई मष्टदेवताको रुपमा स्वीकारेको थियो । मष्टको कायाकैरनलाई मान्दा पनि मष्टको उद्धभव स्थल कैलाश मानसरोवर तथा यसको पेरीफेरीको क्षेत्र नै हो भन्न पर्दछ ।
खशहरुको पहिलो राज्य स्थापना कर्णाली र माहाकाली नदीका बीचमा भएकाले उनीहरुको कुलदेवता मष्टको स्थापना पनि पहिले यसै स्थानमा भएको हो । यसै विषयमा एउटा सानो कहानी छ । भारतको मेवाड राज्यमा राजा जयदेवले मष्टको पुजाआजा गर्दथे । मष्टदेवताको थानमा गाईको रगतको छिटा पर्दा मष्टदेवताले हे राजन यो ठाउँको बसाइ उत्तम नभएकाले अब म पहाडमा पत्थर बनेर बस्नेछु त्यही भेट्न आउनु भन्ने आकाशवाणी गरे रे । राजा जयदेव मष्ट थान खोज्दै खोज्दै जांँदा बझाङ्गको देबाज भन्ने ठाउँमा पुगेछन् । यसरी बझाङ्गमा बान्नी मष्टोको उद्धभव भएकाले बझाङ्गलाई मष्टो देवताको मूलथलो मान्ने गरिएको हो । ढंडार मष्टको उद्धभव पनि यसै बझाङ्ग जिल्लामा भएको कथा सुन्नमा पाइन्छ । विक्रमको पाँचौ शताव्दी तिर बझाङ्गका राजा सैपाल थापाको समयमा मष्टले राजकीय मान्यता पाएको थियो । ढंँडार मष्टो र बान्नी मष्टोलाई एउटै मष्ट मान्ने प्रचलन पनि छ । यसैले बान्नी मष्टो फुटे, ढंडार लुटे अर्थात ढंडार फूट्यो पखान छुट्यो भन्ने आहान सुन्नमा पाइन्छ । ढंँडारको प्रवाहमा प्रवाहित हुँदै जाँदा जलथल पाखापखेरा सबै मष्टमय भए । यसरी सल्यान जिल्लाको छत्रेश्वरी गा.वि.स. थारमारे कोट, रोल्पा सल्यान , दामौचौर गुराँसे कोटमौला गा.वि.स.,शिवालय गा.वि.स , बागचौर न.पा. सुपारी बासकाडा , थिन्वाङ्गमा पनि मष्ट उपासना बढदै गएको हो ।
ढंँडारमष्टलाई बाह्रभाइ मष्ट मध्ये जेष्ठ र श्रेष्ठ भनिन्छ भने थार्प मष्टलाई विद्वान मष्ट र बाविरो मष्टलाई कान्छो मष्ट मान्ने प्रचलन रहेको छ । गुरौ मष्ट र विजय मष्टलाई भाइ राजा भनिन्छ । गुरौ मष्टको मूल थान हुम्लाको सोरुदरामा पर्दछ । रैका राजा र जुम्लाका मल्ल राजाको कुलदेवतालाई तेडीमष्ट भनिन्छ । तेडी मष्ट भारद्वाज गोत्रधारीहरुले पूजाआजा गरेको पाइयो तर श्रीपाली बस्न्यातहरु आदिमष्ट पुज्दछन् । खप्तडी बस्न्यातको कुलदेवता दाह्रेमष्ट हुन् भने श्रीपाली बस्न्यातहरुले मान्ने गरेको आदिमष्ट नै ढंडारमष्टो हुन् भन्न सक्दछौं । तथापि श्रीपाली बस्न्यातहरुले मष्टदेवतालाई हिन्दुकृत गरी शिःसाकोटी महादेव नाम दिएका हुन् भन्नै पर्दछं । हरेक खसहरुले आफुहरुले मान्ने मष्ट देवता र भवानीको नाम मिल्न जरुरी हुन आउँछ । कुलायन देवताको नाम आउने र कुलायनी भवानीको नाम नआउने र कुलायनी भवानीको नाम आउने र कुलायनको नाम नआउने स्वाभाविक नहुने भएकाले दुबैमा तारतम्य मिल्न अत्यन्त जरुरी देखिन्छ । ( श्रोत— मष्ट देवताको ऐतिहासिकता र वझाङ जिल्ला — ललित बहादुर सिंह —सेतोपाटी )
खस—आर्य संस्कृतिमा अन्तरिक्ष रहने देवताहरुमा सूर्य्र ,रुद्र , इन्द्र, वरुण , वायु्र र पृथ्वीमा रहने देवताको रुपमा अग्निलाइ मष्ट देवता मानिन्छ । यज्ञमा रहने देवतालाई मखेस्थ ःर द्युलोक एवं पृथ्वीमा रहने देवतालाई मह्यांस्थ ःभनिन्छ । यिनै शव्द रुप पविर्तन भई मस्तक, (शिरस्थानी ) मस्ता मष्टा मष्ट देवता हुन गएको मान्न सकिन्छ । मष्ट देवतालाई कसैले देवाधिदेव महादेव, कसैले इन्द्र,कसैले इन्द्रपुत्र जयन्तको छोरा र कसैले पाण्डवको अवतार पनि मान्ने गरेका छन् । कसै कसैले बाबिरो मष्टलाई वामदेव गोत्र दिएको पनि भेटिन्छ । कतै कतै मष्टलाई इन्द्रका छोरा जयन्त र इन्द्रकी पत्नी सचीलाइ मनडाली भनेर पुज्ने प्रचलन पनि रहेको छ भने कतै दुष्ट शक्तिको रुपमा बनडालीलाई कालो पाठी पूजा गरी मन्साउने र पन्छाउने पनि गरिन्छ ।
खसहरु प्रायशः कुलायन पूजामा आफ्ना पितृ, कालो चिल्लो शिला र हातहतियारको पूजा गर्दछन् । धेरै जसो ठाउँमा तोरण, निशान, नेजावा, आलम –ध्वजा पताका सहितको लिङ्ग) घण्टी, दियो, आयुध (त्रिशुल, डम्मरु,)हातहतियार ( खड्ग, तरवार ), कालो चिल्लो शिला आदिलाई नै मष्टो देवताको स्वरुप मानेर सात्विकी पूजा गर्दछन् भने कहीं खोपामा र कहिं मनले आह्वान गर्दछन् । मष्टको थानमा तीन वटा गर्भगृह रहेका पाइन्छन् । धामीले पतुर्ने मष्टको थानमा गव्युर संँगै गाडिने आलम (लिङ्गो) मष्टको थानमा फरफराउँछ । मष्टको थान भित्र , बाहिर , वरपर ढुङ्गा , काठ, ताँबा, पित्तल, आदिका मूर्ति , त्रिशुल , रुद्राक्षका माला दियो, शङ्खघण्ट राखिएका पाइन्छन् । मष्ट उपासना गर्दा वैदिक विधि नअप्नाई धामीले पतुर्ने प्राकृतिक (तान्त्रिक) विधि अप्नाएर पूजा आरधना गर्ने परम्परा रहेता पनि आजकल खस बाहुनहरुमा वैदिक विधि अप्नाएर कुलायन पूजा गर्ने गरेको पाइन्छ । कुलायन पूजामा कुलका साथै वीर वेत्ताल तथा भूतप्रेतहरुलाई जीव बलि दिएर पुजाआजा गरिन्छ । केबल बलि खाने र कुललाई भविष्यमा हानी नपु¥याउला भन्न सकिन्न । “ मष्ट , महाद्यौ द्यौती र भूतका धामीहरुले आफुलाई मान्ने बाहुन जातिका मानिसहरुलाई बाम्ना टोक्या, बर्मा टोक्या भनी बोलाउँछन । आफुलाई मान्ने सबै किसिमका जातिका मानिस(भक्त))हरुलाई पाली भनेर बोलाउने र सबै मानिसहरुलाई बोलाउँदा मान्ठार (मनुवा ) भनी बोलाउँछन् । ”( सभार—कर्णालीको अथ इति—श्री रत्नाकर देवकोटा)
शिव र मष्ट एउटै देवता हुन् कि फरक फरक देवता हुन ?
पहिला पहिला शिवलाई वैदिक देवताको रुपमा स्वीकारिएको थिएन । आर्य र ब्रात्या मानिएका खसका आरध्य देवता शिवलाई जङ्गली र असभ्य भनेर हेप्ने गर्दथे । लामो संघर्षमा वैष्ण्व सम्प्रदायका आर्यहरु शैव मतालम्वी सँग पराजित भए पछि शिवलाई त्रिशक्ति मध्ये एक शक्ति स्वीकारिएको अवस्था हो । तत्पश्चात नै शिवलाई वैदिक सनातन धर्मले ब्रह्मा ,विष्णु महेश्वर मध्ये एक शक्ति मानिएको हो । देवताहरुका देवतालाई महान देवता तथा महादेव भनिन्छ । वैदिक सनातन धर्ममा मष्ट देवतालाई कहिं कतै पनि स्मरण पनि गरिएको पाईंदैन । आप्टेको शब्दकोषमा महिष्ट शब्दको अर्थ महान देवता हो । महान शब्दे महादेव भन्ने जनाउँछ । हिन्दु धर्मशास्त्रमा पाइने शिवका हजार नामहरुमा मष्ट शब्द कहिं कतै पनि भेटिंदैन । यसैले मष्ट देवता अवैदिक देवता हुन भन्न सक्दछौं । हुनत शिवलाई महिष्ठ नाम राखेको पाइन्छ । इरानीहरुको अवेस्ता अनुसार त्यहाँको मुख्य देवताको नाम अहुरमज्दा हो । अहुर मज्दा शब्द संस्कृतको असुर महिष्ठ भन्ने शब्दबाट बनेको प्रमाणित हुन आउँछ । अथर्वव वेदमा शिवजीलाई नै व्रात्य भनिएको छ । ब्रात्य खसहरुको पूज्य देवता व्रात्य देवता शिव नै हुन भन्न सकिन्छ । यसैले श्रीपाली बस्न्यातहरु शैव सम्प्रादयका हुन् । शैव सम्प्रादयका भएकाले श्रीपालीहरु स्मार्तनाम पद्धति अप्नाउँछन् । आफ्नो कुलदेवतामा शिःसाकोटी महादेव, वीर भद्र महाकाली र इष्ट देवीमा दक्षिणकालीलाइ पूजाआजा गर्दछन् ।
शिवलाई दक्षिण भारतका ब्राह्मण हुन् पनि भनिएको पाउँदछौं । भगवान शिवको उत्पति स्थल दक्षिण भारत भएता पनि उनी कैलाश पर्वतमा बस्दथे । हिन्दु मान्यताले शिवलाई हिमाल तर्फ उकालेको हो । कथंकदाचित शिवको उत्पति स्थल कैलाश पर्वत मानेता पनि मष्टदेवताको उत्पती स्थल हिमाल पर्वत नभएर नेपालको महाभारत पर्वत श्रृङ्खलामा अवस्थित बझाङको ढँंडार र ककेसस पर्वतमालाको पर्सिया मान्ने गरिन्छ । वि.सं.१९१०मा श्री ३ जङ्ग बहादुर राणाले नेपालमा मुलुकी ऐन जारी गरे पछि मष्ट मान्ने खस जातिलाई उनैले हिन्दुकरण गरेको कुरा डा. सुरेन्द्र के.सी बताउँछन् । त्यही बेला नेपालमा हिन्दु धर्मले राजकीय मान्यता प्राप्त गरेको थियो । अन्ततः खसहरुले पनि मष्ट देवतालाई हिन्दुकृत गर्दै महादेव पदवी दिएका हुन् कि भन्न सक्दछौं । ( श्रोत—मष्ट देवताको ऐतिहासिकता र वझाङ जिल्ला — ललित बहादुर सिंह )
खस जातिको मूल पहिचान भनेको कुलायन देवताको पूजा हो । खस जातिमा लिखित इतिहास र परम्पराको अभावमा मष्टधर्मको विषयमा धेरैलाई ज्ञात छैन । विश्वमा प्रचलित अन्य धर्म झैं मष्टधर्ममा स्वर्ग नरकको कल्पना भेटिंदैन । मष्टको माण्डु तथा थानहरुमा मष्ट र भवानीहरुको मूर्ति पाईंदैन । मष्टको मन्दिर वरीपरी वीर तथा वीरङ्गाना खस योद्धाहरुको वीरताको स्तम्भ तथा सुन्दर युवतीहरुको सालिकहरु पाइन्छन् । यो इहलौकिक धर्म हो भन्ने मान्यता रहेको छ । मष्टधर्ममा दैवी शक्तिको साधना परत्र सुधारका लागि नभई मानवीय हीतको लागि गरिन्छ । मानवताको सर्वोच्चता स्वीकारिने भएकोले यस्लाइ मानवधर्म र अर्को तर्फ प्रकृतिलाई सर्वोच्चता स्वीकारिएको हुनाले यसलाई प्राकृतधर्म पनि भन्ने गरिन्छ । मष्टधर्मका अनुयायीहरुमा धार्मिक सहिष्णुता र परधर्म प्रति सम्मानको भाव पाइन्छ । यही कारण मष्ट अनुयायीहरु कुलपूजा भनेको खस जातिको आदिदेव मष्टको अर्चना र उपसना हो । मष्टदेवताको उपासनाको परम्परा तिब्बत एवं चीनको प्राचीन वोन लामा धर्मबाट प्रभावित छ । खसहरुले नेपाल प्रवेश गर्दा मष्ट संस्कृति पनि आफै सँग साथै लिएर आएका थिए भनिन्छ । मष्टदेवतालाई निराकार अलौकिक , सर्वव्यापि र सर्वशक्तिमान देवताको रुपमा मानिन्छ । मष्टदेवताको निश्चित आकार आकृति नहुने भएकोले मष्टको मन्दिरहरुमा कुनै मूर्तिहरु भेटिँदैन । मष्ट सबै धर्म संस्कृतिका साझा देवता हुन् भनिन्छ । मुस्लिम हिन्दु बौद्ध धर्मालम्वीहरुले मष्टलाई समान रुपमा पूजाआजा गर्ने गरेको पाउँदछौं । हुन त मष्ट देवताको पूजाआजाको कुनै लिखित विधिविधान आजसम्म पनि पाइएको छैन । आ—आफ्नो रुचि परम्परा अनुसार पूजाआजा गर्ने परम्परा नै कुलपूजाको नामले चिनिंदै आएको छ ।
१०, वायु मष्ट कसरी बने ?
एक पटक महादेव र पार्वती कैलाश पर्वतमा आपसमा कुराकानी गर्दे थिए । त्यही बेला पार्वतीले माइतीले माइती देश पर्वतमा यज्ञयज्ञादि गर्न लाइरहेको कुरा नारदबाट थाहा पाइन । माइतीले लगाएको यज्ञमा आफ्नै बाबाको मुखबाट आफ्ना पतिको अपमान सुन्न परे पछि माता पार्वती सोही यज्ञमा हामफालेर देहत्याग गरिन रे ! पार्वतीले देहत्याग गरेको कुरा नारद मार्फत शिवजीले थाहा पाए पछि क्रोधित भइ वीरभद्र र महाकालीलाई दक्षको यज्ञ नाश गर्न पठाउनु भयो । दक्षको यज्ञ नास गरेर फर्केर आएका आफ्ना गणहरुलाई शिवमै लीन हुन या स्वतन्त्र विचरण गर्ने शक्तिमा रहन रोज्ने अनुमती दिनुभयो । गणनायक वीरभद्रले शिवको शरीरमा लीन हुन चाहे भने केही गणहरुले वायु रुपमा सन्सार घुम्न र मान्छेको जिब्रोका माध्यमबाट बोल्ने इच्छा व्यक्त गरे रे । तत्काल शिवजीले तथास्तु भनी बरदान दिनु भयो रे । शिवजीको आर्शिवादले पछि तिनै वायुको रुपमा डाङ्ग्रेका अङ्गमा उत्रेर बोल्ने भए । तिनै वायु आजकल मष्टदेवताका धामी हुन पुगेका हुन् भनिन्छ । ( श्रोत—पश्चिम नेपालका प्रख्यात मष्ट— विनय रिजाल)
कुल देवता मण्डली ( बाह्र भाइ मष्ट र नौ दिदी बहिनीहरु )
परापूर्वकालमा नै खसहरु बाह्र समुहमा विभाजित भएका हुन सक्दछन् । खस क्षेत्रीहरुको पहिलो राज्य स्थापित भयो कर्णाली र महाकाली नदीको बीचको भूभाग वझाङ्गमा, उनीहरुको कुलदेवता मष्टको स्थापना पनि पहिले यसै राज्यमा भयो । केदार खस मण्डलमा प्रवेश गरेपछि “कुलान्त” कहलाएका खस जातिका बाह्र समुहमा विभाजित खसहरुले बाह्रथरी मष्ट देवताहरु मान्न थाले । अर्थात मष्ट अनुयायी खसहरुको मष्टदेवताको हाँगाविंगा बढदै जाँदा १२ वटा शाखामा विभाजित हुन पुग्दा १२ भाइ मष्टा भनिएको पनि हुन सक्दछ । ( श्रोत —मष्ट देवताको ऐतिहासिकता र वझाङ जिल्ला — ललित बहादुर सिंह ) त्यहि मान्यता परम्परामा समन्वित एवं पल्लवित हुन जांदा पूर्वि सपादलक्ष ( १२५ लाख गाउँ ) अन्तरगतका श्रीपाल, खप्तड, खुलाल, कालिकोटे सिञ्जा जस्ता कुलराज्यहरुबाट मष्टदेवताले राजकीय संरक्षण पाएको अनुभव गरिन्छ ।२ श्रीपालका आदिमष्ट ( वझाङमा बान्नी तथा वाविरो मष्ट पहिला र त्यसपछि ढंडार मष्टको उत्पती भएको भन्ने भनाइ पनि रहेको पाउँदछौं ) लाई सेतीनदीका बायाँ पाखामाथि ढँडार भन्ने सुरक्षित स्थानमा राखी आराधना गर्ने स्थिति बसेकोले त्यस्को दोश्रो नाम ढंडारमष्ट, महामष्ट, बराहमष्ट, थार्पुमष्ट समेत बोलिन्छ र यस्लाई मष्ट कुल मध्येको जेष्ठ र श्रेष्ठ मानिन्छ । सात्विकी, राजसी र तामसी प्रकृतिका मष्टहरु मध्ये आदिमष्ट राजसी समुहमा पर्दछ । तैपनि आदिमष्टलाई खिर पायस तथा पूवाको प्रसाद र मष्टका गण ५२ वीर तथा मसान आदिलाई बोका तथा भेंडाको साँर्ढ बलि अर्पण गर्ने परम्परा रहेको छ । सात्विकी प्रकृतिका मष्ट पायस बलि खाने रजोगुणी प्रकृतिका रक्तबलि खाने र तमोगुणी दुवै तर्फ भाग लिनेमा पर्दछन् । मष्टोको १२ भेद ८४ उपभेद भएको पाउँदछौ । बाह्रमष्टोको नामावली निम्नानुसार छन् ( प्रज्ञा— पूर्णाङ्क ९७ वर्ष ३३ —२०५९ चैत्रको अंकबाट)
(१) राजसी गुण ः—क, अदिमष्ट, ख, रुमालमष्ट ग, खापरमष्ट घ, टेडीमष्ट ,ङ, दाह्रे मष्टो
(२), तामसी गुण ः—क, कालामष्ट ,ख, मुण्डमष्ट, ग, रुपामष्ट, घ, कैलोमष्ट
(३) सात्विकी गुण ः— क, मण्डलीमष्ट , ख, दूधेमष्ट, ग, लडेमष्ट
यसरी बाह्रभाइ मष्ट ८४ उपभेद भनिएता पनि प्रज्ञा पूर्णाङ्क ९७ वर्ष ३३ २०५९ चैत्र को अंकमा उल्लेख भए अनुसार मष्टहरुको सूचि निम्नानुसार रहेका छन् ।
१, ढंडार मष्ट(आदिमष्ट) २,कावामष्ट ३, बूढ मष्ट ४, थार्पाेमष्ट ५, गुरोमष्ट, ६, खापरमष्ट ७, ढाड्यामष्ट ८, दुद्यामष्ट ९, विनायकमष्ट १०,विजुल्लीडाँडो मष्ट ११, कालशिल्लोमष्ट १२,वाविरोमष्ट १३, सुनारगाउँ मष्ट १४, लाकुडो मष्ट १५, उखाडी (गुडाली) मष्ट १६, रुमालमष्ट १७, छलमष्ट १८, राउतकोट्या मष्ट, १९, कफाल्ना मष्ट २० पुईक मष्ट २१ वममष्ट २२ वाटपाल मष्ट २४, रामपाल मष्ट २५, लडीपाल मष्ट २६, क्षेत्रपालमष्ट २७, वापाल मष्ट २८, लोहासुरमष्ट २९,दुवेशिला मष्ट ३०, हगुरोमष्ट, ३१,सिमताडी मष्ट ३२, भ्वीन मष्ट ३३, सुम्लेगुरो मष्ट ३४, भुईगरो मष्ट ३५, ह्याङ्ग्र मष्ट ३६, रागमाचुला मष्ट ३७, दयाशिला मष्ट ३८, भुंवार मष्ट ३९, कैलाश मष्ट ४०, लामा –विष्णु मष्ट ४१, जग्गनाथ मष्ट ४२,कुड्या मष्ट ४३, कालिकोट मष्ट ४४, हिङ्गाल मष्ट ४५,लड्या मष्ट ४६, लट्या मष्ट ४७, भैरो (भैरव) मष्ट ४८, सिद्ध मष्ट ४९, तेडी मष्ट ५०, गच्चु मष्ट, ५१, कालढुंगी मष्ट ५२, ढुडीढुस्की मष्ट ५३,साकीदयो मष्ट ५४,उब्ज्या मष्ट ५५, धुरंगा मष्ट ५६, ठिंगाल मष्ट ५७, वान्नीमष्ट ५८, शम्भुमष्ट ५९ , भुइफुटो मष्ट ६०, धुपीरुक्खा मष्ट ६१, बाजकोट्या मष्ट ६२,धौलपु¥या मष्ट ६३, भात्याखोला मष्ट ६४, पन्त्या मष्ट ६५, महावै मष्ट ६६ कुलदयो मष्ट ६७, महादयो मष्ट ६८ , राहदयो मष्ट ६९, सर्कीदयो मष्ट , ७० लाटोद्यो मष्ट ७१, चुनद्यो मष्ट ७२, कुलसैनी मष्ट ,७३ लाटोबाउन मष्ट ७४, सुपारीपण्डित मष्ट ७५,मशालो मष्ट ७६, ध्यौलापानी मष्ट ७७ रुमाला मष्ट ७८, टेडीमष्ट ७९, मण्डलीमष्ट ८०, सड्यामष्ट ८१, मुण्डामष्ट ८२, रुद्रमष्ट ८३, कैलीमष्ट ८४, कालोमष्ट ८५, खप्पामष्ट ८६, गन्यायमष्ट ८७, लोखाली(डी)मष्ट ८८ लिउडीमष्ट ८९, काफलमष्ट ९०, सीममष्ट ९१, ढुसापानीमष्ट ९२,ङदीसितल मष्ट ९३, कुर्मी मष्ट ९४, रमालमष्ट ९५, वाइफाला मष्ट ९६,रामफाल मष्ट ९७, महारुद्र द्य्यौता मष्ट ९८, बाँसकोट्या मष्ट ९९, पुआल्या मष्ट १००, कुंवडा मष्ट १०१, साईन मष्ट १०२, धुरापानीमष्ट १०३, वडावाडा मष्टो १०४, तलीकोट्यामष्ट, १०५, स्वेतामष्ट १०६, पंचालोमष्ट १०७ , रुपामष्ट १०८ कालामष्ट १०९, ह्युना मष्ट,
यसै गरी श्रीपाली बस्न्यात समाजका भाइवृन्दले विभिन्न स्थानमा मानिने केही मष्टदेवताहरु निम्नानुसार रहेका छन् ।
११० साइबारा मष्ट १११, आछामी मष्ट, ११२, दूधेवराहमष्ट, ११३, लहरेवरामष्ट,
मष्टको नौ दिदी बहिनीहरु
मष्टका नौ भवानी तथा देवीहरुलाई चार भागमा विभाजन गरेका पाएका छौं । सोही अनुसार यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
( क,) मालिकाका नौ दिदी बहिनीहरु
१, दरवारमालिका , २, मालिका, ३, चिमरामालिका , ४, बढीमालिका, ५, चुलीमालिका ६, पुङ्गमालिका, ७, भुरचुला मालिका ,८, बासी मालिका, ९,कोटमालिका
( ख,) त्रिपुरासुन्दरीका नौ दिदी बहिनीहरु
१, काफ्ला सैनी , २, पोटला सैनी, ३, बोदलासैनी , ४, निङ्गला सैनी, ५, डिला सैनी ६, निला सैनी
७, रण सैनी , ८, जिला सैनी , ९, विजुला सैनी
(ग,) वैदिक सनातन धर्मशास्त्र अनुसार दुर्गाका नौ दिदी बहिनीहरु
१, शैलपुत्री , २, चन्द्रघण्टा, ३, कुष्माण्डा ,४, स्कन्दमाता, ५, वात्स्यानी ६, ब्रह्मचारिणी
७ कालरात्री ८, सिद्धिदात्री , ९, महागौरी
(घ,) मष्टोका नौ दिदी बहिनीहरु
१, कालिका , २, मालिका , ३, कनकासुन्दरी , ४,त्रिपुरा सुन्दरी ५, जालपा देवी ,६, खेसमालिनी
७, ठिङ्याल्नी, ८, हिमालिनी ९, विन्ध्यवासिनी
(ङ ) अर्थात यस्को बदलामा मष्टका ९ दिदी बहिनीहरुको निम्न नामहरु पनि सुन्नमा पाइन्छन् ।
१, कालिका , २, मालिका , ३, भवानी , ४, जालपादेवी ५, सुनन्दा देवी ६ अलकनन्दा, ७, कनकसुन्दरी , ८, त्रिपुरा सुन्दरी, ९, उग्रतारा
( साभार—क देखी घ सम्म श्रोत मष्टो संस्कृति —तेज बहादुर कार्की पेज नं.१०६बाट साभार ),
उपर्युक्त मष्टहरु बाहेक कुलायन पुजा संगै नौ मालिका , नौ त्रिपुरा सुन्दरी वा नौ दुर्गा भवानी , नौ मष्टका दिदी बहिनी , नौ विन्ध्यावासिनी , वनदेवी ,मरुत , भूत, वेताल भुईयार , मष्टका भाञ्जा भाञ्जी मष्टको गणनामा पुजित छन् । मष्टको पुजा विभिन्न विधिविधानले गर्नुपर्छ । आदिमष्ट रजोगुणी भएकाले राजर्षि ठांटबाटका साथ पूजाआरधाना गर्नुपर्छ भन्ने मान्यता रहेको छ । सो अनुसार गर्न नसकेमा कुलदेवताको देवाली गर्दा केही वर्षको अन्तरालमा गर्न उपयुक्त हुने तर झारा टार्ने प्रवृत्तिले पूजाआजा गर्न नहुने र गरेमा अनिष्ठ हुने प्रवल संभावना रहेको कुरा धामीको कायाकैरनमा आधारित रहेको छ । श्रीपाली बस्न्यातहरुको कुलदेवताको बारेमा योगी नरहरिनाथको मत अनुसार कुलका भरतसिंह भारद्वाज गोत्र (भारद्वाज, अङ्गिरस, वार्हस्पत्य) त्रिप्रवर ‘शुक्ल यजुर्वेद । मध्यन्दिनी शाखा कुलदेवता शिःसाकोटी महादेव महाकाली, वीरभद्र । इष्टआद्यशक्ति दक्षीणकाली उल्लेख गर्नु भएको छ । नेपाल अधिराज्य भित्र श्रीपाली बस्न्यातहरुले विभिन्न किसिमले विभिन्न देवदेवीको आरधना गरी कुलदेवताको देवाली गर्ने प्रथा रहेको कुरा सम्बन्धित स्थलको अवलोकन भ्रमण र भाइवृन्दलाहरूको कहानीमा आधारित रहेको छ । श्रीपाली बस्न्यातहरुकै एकमात्र पवित्र एवं पावन भूमि गोरखामा हाल सम्म पुजित देवगणहरूमा कुलदेव शिःसाकोटी महादेव, त्रिशुले, र वायु .(मरुत्तेश्वर) छन् भने काठमाण्डौं फर्पिङ्ग र मच्छेगाउँमा शिःसाकोटी महादेव, वीरभद्र, वायु, र महाकाली काठमाण्डौं आरुवारीमा शिःसाकाटी महादेव, वीरभद्र महाकाली काठमाण्डौं वनकालीमा शिःसाकोटी महादेव, वीरभद्र र महाकाली, दैलेख, सुर्खेत, वाग्लुङ्ग र पोखरामा आदिमष्ट (दूधेवराहमष्ट— शिःसाकोटी महादेव ) , दुबे तथा बूढा झाँक्री, लहरेवराह, काली तथा सुरमादेवी (ऐराठ वैराठ कुलदेवी,), छ्यासछ्यासती मष्ट, संखुवासभाको आँखीभुई र धनकुटाको लेगुवामा साइबारामष्ट, मण्डाल्नीदेवी, बनडालीदेवी, भाञ्जा—भाञ्जी, रुमालमष्ट अठार डाइनी ,तेह्रथुममा वराहमष्ट (अछामी मष्ठ ? क्रावासिला?) देउझांक्री (भुरोसिलो), मण्डल्नीदेवी (भान्जी) आछामी वारा (भाञ्जो), रुमाला (दुर्गा वा नन्ना) सहायक देवी पुजित छन यसै गरी सिन्धुपाल्चोक पिपलडांडामा पनि पृथ्वीनारायण शाहबाट वक्सतामाको झण्डा, निशान, ढाल, तरवार चमर आदि निकालेर कुल पुजा गरिन्छ । ( श्रोत — श्रीपाली बस्न्यात स्मारिका —२०७९)
एकभाइ मष्ट र १६ दिदी बहिनीहरु
बाहूभाइ मष्ट नौ भवानीका अतिरिक्त एक भाइ मष्ट र सोह्रबहिनी छन् भन्ने अर्को लोकमत पनि पाइन्छ । यस सम्वन्धमा लोकसाहित्यका किंवदन्ती, फाग, मागल सगुन, चैत भोलाइलो जस्ता विधामा समेत सुन्नमा पाइन्छ । डोटीको शैलेश्वरीमन्दिर उत्तर तर्फ मष्टमा दूधेमष्ट र भवानीहरुमा १, जालपादेवी , २, लाखमा देवी , ३ पूण्यगिरी , देवी , ४( निगलादेवी, ५) दुर्गादेवी, ६) सुर्मादेवी ७) कालिका देवी, ९) खनारी देवी ९) मालिका देवी १०)त्रिपुरा सुन्दरी देवी, ११) नन्दा देवी १२) उग्रतारा १३) कनकासुन्दरी , १२४) भूवनेश्वरी , १५) वोगेश्वरी ,१६) शैलेश्वरी इत्यादि छन् ।
११) मनडाल्नी र बनडाल्नी भन्नाले के बुझिन्छ ?
मन्डाल्नीलाई मष्ट देवताको आमाको रुपमा हेर्ने गरिन्छ । मष्टको आमा भएकीले यिन्लाई पनि अष्टमातृका मानेर पूजा गरिन्छ । मष्टमाण्डौ भित्रै मनडालीका गब्युर रहने र सोही गब्युरमा मष्टको पूजा हुनु अगावै मनडालीको पूजा गर्ने परम्परा रहेको छ । मनडाल्नीलाई कुलदेवीको रुपमा पूजा गरिन्छ । मन्डाल्नी पूजा गर्दा गाईको दूध र सेतोफूलको प्रयोग गर्नु पर्दछ । मनडाल्नीलाई छागबलि दिने गरिंदैन । पश्चिमतिर मन्डालीलाई इन्द्रकी अर्धाङ्गिनी शची अर्थात पुलोमा राक्षसको छोरी र इन्द्रको छोरा जयन्तको आमा मान्ने गरिएको पाउँदछौं । दाह्रेमष्टले लामा दाह्र निकालेर बलिका बोका काट्ने भएकाले दाह्रेमष्टलाई राक्षसी पुत्र पनि भन्ने प्रचलन सुन्नमा पाइन्छ ।
कुलपूजामा विध्नवाधा पु¥याउने दुष्ट शक्ति ( राक्षसनी) वनडाल्नीलाई कालो पाठी भोग दिएर मन्साउने गर्दछन् । तर श्रीपाली बस्न्यातहरु भाद्रशुक्ल चर्तुदशीकै दिन बेलको रुख नजिक दुष्ट शक्तिको वीर (भूने) राक्षसलाई सेतो भेंडा वा सेतो बोकाको बली दिएर भूत साधना गर्ने गर्दछन् । वीरलाई पूजा र बलि दिए पछि बेलको रुखको फेदमा विल्व निमन्त्रण पूजा गर्ने परम्परा रहेको छ । बेल(शिव) को पूजा समाप्त भए पछि सेही बेलको रुखबाट वेलपत्र र वरपरका वागवानीबाट फूलहरु टिपेर डोलीमा सजाएर राख्ने गर्दछन । ( श्रोत मष्टो संस्कृति र परम्परा — श्याम बहादुर खड्का)
मष्टका सहयोगी नातेदार
मष्टलाई लोककल्याणकारी एवं भक्तवत्सल देवता मानिन्छन् । उनी लोकहितका लागि सदैव चिन्तनशील बनिरहन्छन् । वास्तवमा मष्ट भक्तहरुको समस्या निराकरण गर्नका लागि उनमा ठूलो समुहमा वाहन, भान, वीर वा बाँठले परीपूर्ण भएका देवता मानिन्छन् । ति वाहनहरुलाई बाउन्नवीर, सोह्र मसानी र अठार डाइनी भन्ने चलन छ । स्थानीय नदी नाला बाटो घाटो पहाड भञ्ज्याङ, पाखा पखेरा खेतबारी मा रहने देवी देउराली एवंअन्य देवी देउतालाई मष्टका सेवक मानिन्छन् । सर्प, घोडा ,बाँदर बिरालो, कुकुर, निलाग्रे छ्यढुस्काहरु लगायतका मष्टका भानहरु शक्तिशाली र वीर हुन्छन् । वीर, मसान, डाइनी तथा भानहरुलाई शक्तिशाली बनाइएमा मष्टदेवता पनि शक्तिशाली र लोक कल्याणकारी बन्ने विश्वास रहेकाले तिनै बाउन्न बिर लगायतका मष्टका सेवकहरुलाई बोका तथा भेंडाको बलि दिने गरिन्छ । तिनै बलि दिएका भेंडा बोकाकाको प्रसादलाई कुलदेवताको प्रसाद सम्झेर ग्रहण गर्ने परम्परा रहेको पाइयो । हुन त शिवका परिवारमा धेरै सदस्यहरु पाइन्छन् । तथापि मष्ट अविवाहित मानिन्छ्न् भने भगवान शिव विवाहित देवता हुन् । हुन त मष्ट र शिव एक अर्काको स्वरुप मानिन्छ । मष्टलाई भोग बलि दिनु हुँदैन भनिन्छ । मष्टथानमा रगत पर्न सक्दछ भनेर पूजास्थान वरपर खिड्की तथा मण्डला बार्ने गरिन्छ । सिद्धझाँक्रीको साथ साथै झोलीका देवता भान्जा र भान्जीको पूजा गरेर नात कुटुम्बेरी दरो बनाउन पुगेको पाउँदछौं । ं
अन्त्यमा
श्रीपाली बस्न्यातका पूर्वजहरु श्रीपाल राज्यका श्रीपुरकोटका श्रीपुर शाहीका वंशज मानिन्छन । राज्यको भूमि सम्वन्धी काम गर्ने न्यायाधिश तथा वासन्यायार्थी पदबाट शब्द अपभ्रंश भइ बस्न्यार्थी, बस्न्याती हुँदै बस्न्यात बन्न पुगेका हुन् । कर्मका आधारमा बस्न्यात हुन पुगेका तिनै श्रीपुर शाहीका जेठा छोरा आदिपुरुष दलमर्दन शाहीले भगवान शिवजीको तपस्या गरी कुलदेवता भइ बस्ने वरदान पाए पछि श्रीपाली बस्न्यातहरुको सेवा सुश्रुसा गर्दै आएका छन् । अर्को तर्फ बसाइसराइको क्रममा धेरै टाढा पुग्दा पुराना कुराका शब्द अपभ्रंश हुन जाँदा मूल स्वरुपमा परिवर्तन हुँदै गएको पाउँदछौं । १२ भाइ मध्येको आदिमष्ट तथा ढंडारमष्ट नाम उच्चारण गर्न नजानेर वा बिर्सेर बाह्रमष्ट भन्न थाल्यौं । अन्ततः बाह्रभाइ मष्टको शब्द छोट्याउन जाँदा बारामष्ट हुन पुग्यो । अन्ततः श्रीपालीहरुको छंदाखाँदाको पुरानो पदवी शाही शब्द समेत गाँसेर साइबारा मष्ट बनाउन पुग्यौें । एक पटक पुनः सोचेर सबै ठाउँका भाइवृन्दले अन्तरकृया गरेर हाम्रा कुल देवताको नाममा एउटै निष्कर्षमा पुग्नु जरुरी भइ सकेको छ ।