व्यास–३ का युवायुवतीलाई वरिष्टा तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास–३ का युवायुवतीलाई वरिष्टा तालिम

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०८१, मंगलवार

    दमाैली । सीप सिकाएर दक्ष बनाउने उद्धेश्यसहित तनहुँको व्यास नगरपालिका–३ ले यहाँका युवायुवतीलाई वरिष्टा तालिम दिएको छ । युवायुवतीको माग अनुसार वडा कार्यालयले चालु आर्थिक वर्षको युवालक्षित कार्यक्रम मार्फत् वरिष्टा तालिम दिएको हो ।

    ४५ दिनसम्म सञ्चालन भएको तालिममा ३२ जना युवायुवतीको सहभागिता थियो । तालिमका सहभागीलाई मङ्गलबार प्रमाणपत्र वितरण गरिएको छ ।

    तालिम समापन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सीप सिकेर दक्ष बन्दा सधैं काम लाग्ने बताउँदै वरिष्टा तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले भने, “विदेश जाँदा होस् वा स्वदेशमै बसेर पनि यो सीपलाई व्यवहारमा उतार्न सके आम्दानी गर्न सकिन्छ ।” न्यौपानेले विदेशमा पढ्न जाँदा समेत फुर्सदको समयमा यो सीप प्रयोग गर्न सके पढाइ खर्च जुटाउन सहज हुने उल्लेख गरे ।

    वडाध्यक्ष अनुप रानाले वडाको युवा लक्षित रु दुई लाख बजेटबाट युवायुवतीलाई वरिष्टा तालिम दिइएको जानकारी दिए । वरिष्टामा युवायुवतीको आकर्षण रहेकाले सीप सिकाएर दक्ष बनाउन सञ्चालित तालिम प्रभावकारी रहेको उनको भनाइ छ ।

    तनहुँ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले कफी बनाउने सीपको भविष्य राम्रो रहेको उल्लेख गरे । शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ, महिला वडा समन्वय समिति उपाध्यक्ष केशकुमारी राना, वडा सदस्य विनु श्रेष्ठ लगायतले तालिमलाई व्यवहारमा उतार्न आग्रह गरे ।