काठमाडौँ, असार ६ । बिबिसीका मास्टर सेफ सन्तोष साहले सुरु गरेको ‘मिथिला थाली’ रेस्टुरेन्ट दोस्रो वर्षमा प्रवेश गरेको छ । मिथिलाको मौलिक परिकार प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको असार ६ गते आमाको हातबाट रिबन काटेर जनकपुरमा मिथिला खानाको रेस्टुरेन्ट सुरु गरेका साहले दोस्रो वर्ष नपुग्दै राजधानी काठमाडौँमा तीन शाखा विस्तार गरेका छन् ।
जनकपुर तथा मधेसको मौलिक परिकारको स्वाद काठमाडौँबासीलाई खुवाउने योजनाका साथ उनले केही समय अघि झम्सिखेलमा मिथिला थाली सुरु गरेका थिए । साथै दोस्रो बर्ष पुगेको अवसरमा गौशालामा मिथिला थालीको तेश्रो आउटलेटको बिहिवार सफ्ट ओपनिङ गरिएको छ भने नक्सालको गैरीधारामा केही दिनमै नयाँ रेस्टुरेन्ट सञ्चालन हुने उनले जानकारी दिए ।
“जनकपुरमा अपेक्षाकृत सफलतापछि काठमाडौँ उपत्यकाको झम्सिखेलमा रेष्टुराँ सुरु गरेका थियौँ”, उनले भने, “झम्सिखेलको रेष्टुराँमा उत्साहजनक प्रतिक्रियापछि गौशाला र गैरीधारामा रेस्टुरेन्ट सुरु गर्र्न लागिएको हो ।”
उनका अनुसार गौशालाको आउटलेटमा विशुद्ध शाकाहारी परिकार उपलब्ध हुनेछ । पशुपतिनाथ मन्दिर दर्र्शन गर्न आउने तिर्थयात्रीलाई लक्षित गरी शाकाहारी रेस्टुरेन्ट सुरु गर्न लागिएको उनको भनाइ छ । साहले अब काठमाडौँबासीले गौशालामै मिथिला क्षेत्रको मौलिक परिकारको स्वाद लिन पाउने बताए । मिथिला थाली अन्तर्गत ग्राहकले एकै थालीमा १७ परिकारको स्वाद लिन पाउने उनको भनाइ छ ।
“मेरो उद्देश्य मिथिलाको मौलिक खानासँगै संस्कृति र कला पनि प्रबद्र्धन गर्नु हो”, उनले भने, “त्यसैले रेष्टुराँमार्फत मिथिला झल्कने गरी मिथिला कलाले सजाइएको छ ।” रेष्टुराँमा आउने ग्राहकले मिथिला आर्ट खरिद गरेर कलाकारलाई सहयोग पनि गर्न सक्ने साहको भनाइ छ । “हामीले मिथिला कलाकारका सिर्जनालाई यहाँ राखेका छौँ, ग्राहकहरुले यी कला खरिद गरेर उहाँहरुलाई आर्थिक रुपमा सहयोग गर्न सक्नुहुनेछ”, उनले भने ।
दाई दिलिप साहको प्रेरणाबाट सेफ बनेर बिबिसीको मास्टर सेफ २०२०को उपविजेता र मास्टर सेफको प्रोफेसनल रिम्याच २०२१को बिजेता बन्दै विश्वभर नेपाली परिकार चिनाउन सफल साहले अहिले पनि दाईसँगै सहकार्यमा रेष्टुराँ विस्तार गरिरहेका छन् ।
साह पछिल्लो समय उनी फूड टुरिजम प्रवर्द्धन गर्न पनि उत्तिकै सक्रिय छन् । गौशालाको रेस्टुरेन्टमा मिथिलाको शाकाहारी खाना मात्रै उपलब्ध हुने भए पनि गैरीधारा र झम्सिखेलका रेष्टुराँमा भने साहको कस्टमाइज मेनु उपलब्ध हुने र ग्राहकले नयाँ परिकारको स्वाद लिन पाउने उनको भनाइ छ ।
साहले फूड टुरिजम अन्तर्गत माता सिताको जन्मभूमिको परिकारलाई भगवान रामको जन्मभूमि भारतको अयोध्यामा पुर्याउने गरी काम भइरहेको जानकारी दिए । उनका अनुसार अबको एक वर्षभित्रमा अयोध्यामा मिथिला थाली सुरु हुनेछ ।
साथै कतारको राजधानी दोहामा पनि एक वर्षभित्रै रेस्टुरेन्ट सुरु गर्ने योजना रहेको उनको भनाइ छ । त्यसका साथै आगामी दिनमा मुलुकमा विभिन्न मुख्य सहरमा पनि रेस्टुरेन्ट विस्तार गर्ने उनको योजना छ ।