पोखरा । कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक पोखराले शुक्रबार सडकमा मास्क नलगाई हिँड्ने आम नागरिकहरुलाई मास्क वितरण गरेको छ ।
लकडाउन केहि मात्रामा खुकुलो भएसंगै मानिसहरुको बढ्दो आवागमनको चापलाई मध्यनजर गरि मास्क नलगाई हिँड्नेहरुलाई मास्क वितरण गर्ने तथा सचेतना समेत प्रदान गरि यसको संक्रमणबाट हुने क्षति न्यूनिकरण गर्न केन्द्रले मास्क वितरण गरेको हो ।
उक्त कार्यक्रममा पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न चोकहरुमा सचेतनामूलक प्लेकार्डहरु सहित दुई सय भन्दा बढि मास्क नलगाई हिँड्नेहरुलाई मास्क वितरण गरि सम्झाई बुझाई गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक पोखराका अध्यक्ष विपिन अधिकारीले उक्त कार्यक्रमले आगामी दिनमा समेत निरन्तरता पाउने बताउँदै कार्यक्रम प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीसँगै हातेमालो गर्दै समाजका विकृती विसङ्गति न्युनीकरण गर्ने उदेश्यले स्थापित उक्त सामुदायिक प्रहरी सेवा केन्द्रले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।