पत्रकार महासंघका अध्यक्ष पोख्रेलद्वारा राजिनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पत्रकार महासंघका अध्यक्ष पोख्रेलद्वारा राजिनामा

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८१, सोमबार

    काठमाडौ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन्। महासंघको निर्वाचन समयमा गर्न नसकेको आरोप खेप्दै आएका पोखरेलले आज राजीनामा दिएका हुन्।

    गत चैतमा नै महासंघको केन्द्र, प्रदेश र जिल्लाको कार्यकाल सकिएको थियो। महासंघ केन्द्रले यही असोज ५ गतेका लागि नयाँ निर्वाचनको मिति तोकेको छ। यसअघि जेठ २६ गतेका लागि निर्वाचन हुन नसकेपछि पुन: असार २२ गतेका लागि समय निर्धारण भएको थियो। तर मतदाता नामावलीमा देखिएको विवाद समाधान नहुँदा निर्वाचन हुन सकेको थिएन। आगामी असोज ५ गतेका लागि नयाँ निर्वाचन मिति तय भए पनि हालसम्म नयाँ मतदाता नामावली र कार्यतालिका सार्वजनिक भएको छैन।

    गत भदौ १६ गते विज्ञप्ति जारी गर्दै अध्यक्ष पोखरेलले घोषित मितिमा निर्वाचन हुन नसकेकामा आफूले नैतिक जिम्मेवारी लिने बताएका थिए। ‘महासंघ आफैंमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण केही अन्योल र अलमल देखिन पुगेको स्पष्ट पार्न चाहन्छु। घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरू जे जस्ता भए पनि अध्यक्षका नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्दछु। महासंघले यसबीचमा भोगेका सकारात्मक पक्षहरू अनुसरण गदै नकारात्मक पक्षहरूबाट शिक्षा लिँदै सच्चिनु पर्ने आवश्यकता महसुस गरेको छु’उनले विज्ञप्तिमार्फत भनेका थिए।