पर्यटकीय नगरी बन्दीपुरमा मनाइयो ऐतिहासिक खड्गजात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पर्यटकीय नगरी बन्दीपुरमा मनाइयो ऐतिहासिक खड्गजात्रा

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८१, शुक्रबार

    दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा फूलपातीको अवसरमा ऐतिहासिक खड्गजात्रा मनाइएको छ । बडादसैँको सातौ दिन फूलपातीका अवसरमा बिहीबार यहाँ खड्गजात्रा मनाइएको हो ।   
    हरेक वर्ष फूलपातीको दिन बन्दीपुर गाउँपालिका–४ स्थित खड्गदेवी मन्दिरमा यो जात्रा मनाउने प्रचलन छ । खड्गजात्रा मनाउन बन्दीपुरका विभिन्न वडाबाट बाक्लो सङ्ख्यामा सर्वसाधारण उपस्थित भएका थिए ।   
      
    बन्दीपुरमा तीन सय वर्ष पहिलादेखि फूलपातीको अवसरमा खड्गजात्रा मनाउने प्रचलन रहेको स्थानीय किसान प्रधानले जानकारी दिए । उनले भने, “फूलपातीको दिन बन्दीपुरको खड्गदेवी मन्दिरमा राजा मुकुन्द सेनको खड्ग प्रदर्शन गरेर बजार परिक्रमा गराउने प्रचलन रहँदै आएको छ ।”   

      
    यस मन्दिरमा फूलपातिको दिनमा खड्ग यात्रामा प्रयोग गरिने देवीको गहना विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा अङ्कित झल्लरमा उल्लेख छ । मन्दिरमा पूजाआजाका लागि वि.सं. १९१६ मा एक गुठीको स्थापना गरि सञ्चालन सुरू गरिएको नेपाल अधिराज्यमा तनहुँ नामक डिल्लीराम मिश्रको पुस्तकमा उल्लेख गरिएको छ ।   
      
    खड्गदेवी मन्दिरमा हरेक दसैंको फूलपातिका दिन विशेष मेला लाग्छ । मन्दिरको खड्गलाई बजारमा शोभायात्रा गरिन्छ । खड्ग शोभायात्रा गर्दा बन्दीपुरका सबै जातजातिका व्यक्ति सहभागी हुने खड्गदेवी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।   
      
    पाल्पाली राजा मणि मुकुन्द सेन प्रथम देवीको भक्ति तथा तपस्यामा तल्लिन भए । उनले आफ्नो अन्तिम कालमा बन्दीपुरदेखि पश्चिम रहेको मुकुश डाँडामा आई तपस्या गरेका थिए । युगको १५ औँ शताब्दीमा प्रख्यात राजा सेन तपस्या गरेको ऐतिहासिक स्थललाई मुकुन्देश्वरीको डाँडा पनि भन्ने चलन छ ।   
      
    उनले राज्य विस्तार गर्दा प्रयोग गरेका खड्गलाई भगवतीको शक्तिको रूपमा मानी प्रतिष्ठापन गरिएको हुँदा यो मन्दिरको नाम खड्गदेवी मन्दिर रहन गएको इतिहासमा उल्लेख छ ।   
      
    खड्गदेवी मन्दिर बन्दीपुरको पुरानो, ऐतिहासिक, पुरातात्विक महत्वको सम्पदा हो । सबैका साझा सांस्कृतिक सम्पदाकाको रुपमा सबै जातजाति बीचमा एकताको प्रतिकका रूपमा चिनिने खड्गदेवी मन्दिर बन्दीपुरबासीका इस्टदेवता हुन् । दुर्गादेवी शक्तिको रूपमा स्थापित खड्गदेवीलाई शक्तिपीठको प्रारुप लिइन्छ भने बन्दीपुर विद्यापीठको केन्द्रको रूपमा परिचित छ ।   
      
    भगवान शिवजीले राजा मणीमुकुन्द सेनलाई दिएको तरबार राजा मुकुन्द सेनले एक ब्राहृमणीको घरमा छाडेर गई देवघाटमा गएर समाधि लिएको र यस तरबारले नागको रुप लिएर घरको परिक्रमा गरिरहेपछि धार्मिक अनुष्ठान गर्ने कार्य गरिएको र नागले तरबारको रुप धारण गरी उडेर बन्दीपुर डाँडामा खसेर उछिट्टिएर यस ठाउँमा भगवान शिवजीको सन्देश स्वरुप खड्गदेवीको रुपमा प्रकट भइ स्थापना भएको धार्मिक किंवदन्ती रहेको छ ।