समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

    खबरपुञ्ज संवाददाता

    ७ कार्तिक २०८१, बिहीबार

    काठमाडौँ । काठमाडौमा जारी साफ महिला च्याम्पियनशिपमा नेपाल आजको खेल सहज रुपमा जितेर समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

    समूह विजेता बन्ने क्रममा नेपालले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’को आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। 

    खेलको पहिलो हाफमा नेपालले ४ गोल गर्‍यो भने दोस्रो हाफमा २ गोल गर्‍यो। नेपालको जितमा रेखा पौडेलले २ गोल‚ सावित्रा भण्डारी ‘साम्बा’, सविता रानामगर, अमिषा कार्की र रश्मीकुमारी घिसिङले १/१ गोल गरे।

    आज करिब साढे ७ हजार घरेलु दर्शक उपस्थित रहेको रंगशालामा नेपाल श्रीलंकामाथि एकपक्षीय रुपमा हावी रह्यो।

    आजको जितसँगै नेपालले ३ खेलबाट ७ अंक जोड्यो। पहिलो खेलमा भुटानविरुद्ध गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो।

    आजको पराजयपछि श्रीलंका ३ अंकमा सीमित रहँदै र प्रतियोगिताबाट बाहिरिएको छ। श्रीलंकाले पहिलो खेलमा माल्दिभ्सलाई १–० को पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानसँग ४–१ को पराजित भएको थियो। 

    भुटानले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। आजै भएको पहिलो खेलमा भुटान माल्दिभ्सलाई १३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो। 

    नेपाल र भुटानको अंक बराबर भए पनि नेपाल गोल अन्तरका आधारमा भुटानलाई उछिन्दै समूह विजेता बनेको हो।

    अब सेमिफाइनलमा नेपालले समूह ‘ए’ को उपविजेता भारतसँग खेल्नेछ। फाइनल प्रवेशका लागि नेपालले भारतसँग आइतवार साढे ६ बजे यही मैदानमा खेल्नेछ।

    नेपाल यसपटकसमेत गरेर लगातार सातौँ पटक सेमिफाइनलमा पुगेको हो। ५ पटक उपविजेता बनेको नेपालले यसअघिका सबै संस्करणमा कम्तिमा सेमिफाइनलसम्म पुगेको छ।