थानीमाइमा तेस्रो मंगलबार ७४ फूलको डोली भित्रियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थानीमाइमा तेस्रो मंगलबार ७४ फूलको डोली भित्रियो

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०८१, बुधबार

    दमौली । तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाइ मन्दिरमा कात्तिकको तेस्रो मङ्गलबार आज ७४ फूलको डोली भित्रिएको छ ।   
      
    विभिन्न जिल्लाबाट आएका भक्तजनले ७४ फूलको डोली भित्र्याएका हुन् । त्यसक्रममा पाँच हजार आठ सय भक्तजनले मन्दिरमा पूजाआजा गरेको थानीमाइ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए । साथै सोमबार राति मन्दिरमा जागाराम बसेर बत्ती बाल्नेको सङ्ख्या पाँच सय १८ रहेको थियो ।   
      
    अध्यक्ष थापाका अनुसार कात्तिकको पहिलो मङ्गलबार ६६ र दोस्रो मङ्गलबार ३४ फूलको डोली भित्रिएको थियो । पहिलो मङ्गलबार दुई हजार सात सय ५० र दोस्रो मङ्गलबार चार हजार सात सय भक्तजनले मन्दिरमा पूजाआजा गरेका छन् ।   
      
    प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाइ मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाइ छ ।   
      
    भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाइ मन्दिरको नाचगान गर्दै तीनपटक परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले वसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ ।   
      
    सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाइ मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउनको एकादशी र औंसी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।   
      
    समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको थियो ।   
      
    विसं १८२५ बाट यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्तरध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको विश्वास छ ।   
    —