दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा उत्पादित मासले बजार पाएपछि कृषक उत्साहित भएका छन् । जिल्लाकै सबैभन्दा अग्लो (२१३४ मिटर) उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित मासले स्थानीय स्तरमै बजार पाएपछि यहाँका कृषक उत्साहित बनेका हुन् ।
छिम्केश्वरीस्थित बगई, खेउसिङमा उत्पादित मास आँबुखैरेनी गाउँपालिका–३ स्थित हाटबजारबाट सहज रुपमा विक्री भइरहेको छ । मासको माग अत्याधिक हुँदा कृषकलाई माग अनुसारको पु¥याउनै हम्मे हम्मे परेको छ ।
उत्पादित मासले बजार पाएपछि विक्री नहुने चिन्ता हटेको खेउसिङका कृषक कमानसिंह गुरुङले जानकारी दिए। विगतका वर्षहरुमा बजार खोज्दै हिँड्नुपरेको सम्झिँदै उनले भने, “मास विक्रीका लागि भौतारिनुपथ्र्यो, अहिले त सहज रुपमा विक्री गर्न पाउँदा सजिलो भयो ।” आँबुखैरेनी गाउँपालिकामा विगत एक वर्षदेखि सञ्चालनमा आएको हाटबजारले कृषि सामग्री विक्री वितरण गर्न सजिलो भएको उनकाे भनाइ छ ।
बगईका कृषक सानुमाया भुजेलले मासले बजार पाउन थालेपछि यस खेतीतर्फ झनै आकर्षण बढ्ने बताइन् । “बजार नपाउँदा कृषक खेतीतर्फ प्रोत्साहित हुँदैनन्, तर जब उत्पादित सामग्रीले बजार पाउँछ त्यसखेतीतर्फ आकर्षण बढ्छ,” उनले भनिन्, “गाउँपालिकाको पहलमा सहज रुपमा मास विक्री गर्न पाउँदा सजिलो भयो ।”
आँबुखैरेनीस्थित हाटबजारमा छ हजार ७५ किलो मास विक्री भएको छ । पहिलो चरणमा चार हजार दुई सय र दोस्रो चरणमा एक हजार आठ सय ७५ किलो मास विक्री भएको हो । त्यसक्रममा कृषकले रु १२ लाख १५ हजार आम्दानी गर्न सफल भएका छन् । पहिलो चरणमा रु आठ लाख ४० हजार र दोस्रो चरणमा रु तीन लाख ७५ हजारको मास विक्री भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। उनका अनुसार प्रति किलो रु दुई सयमा मास विक्री गरिएको छ । उनले भनिन्, “माग धेरै हुँदा सबैलाई पु¥याउन सकिएको छैन ।”
गाउँपालिकाले हाटबजारसम्म मास ढुवानीका लागि सवारी साधनको व्यवस्थापन गरिदिएको थियो । त्यस्तै मास उत्पादन गर्ने कृषकलाई प्रति किलो रु २५ अनुदान दिने व्यवस्था मिलाइएको केसीले बताए ।
गाउँपालिकाले विगत एक वर्षदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने काम गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषि उपज विक्री वितरणका लागि प्रभावकारी थलोको रुपमा विकास भएको छ ।
हाटबजारमा प्रत्येक शुक्रबार कृषकले उत्पादन गरेका कृषि उपज वस्तु विक्री वितरणका ल्याउँछन् । उपभोक्ता पनि कहिले शुक्रबार आउँछ र ताजा कृषि उपज सामग्री आउछ भनेर कुर्छन् ।
हाटबजारमा स्थानीय मह, गोलभेडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगान लगायतका दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। चुमानका अुसार वार्षिक रु दुई लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने उनले बताए ।